धर्म/संस्कृति

'मुलुकमा संविधान अनुरुप सरकार सञ्चालन, लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्नुपर्छ'

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले मुलुकमा संविधान अनुरुप सरकार सञ्चालन, लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्नुपर्ने बताएकी छन्।

त्यसका निम्ति संसद्को भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। उनले छठ पर्व–२०८२ को अवसरमा आज सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको लागि शुभकामना व्यक्त गर्दै भनेकी छन्, 'वर्तमान अवस्थामा राष्ट्रियसभा एक स्थायी संस्था भएकाले यसले नीति निर्माण, कानुन निर्माण र राजनीतिक स्थिरतामा सन्तुलन कायम गर्ने, राष्ट्रिय सहमति निर्माण गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास म गर्दछु।'

उपाध्यक्ष घिमिरेले संसदमार्फत जनप्रतिनिधिहरूले आआफ्ना विचार राख्ने, छलफल गर्ने र सहकार्यद्वारा निष्कर्षमा पुग्ने प्रक्रियाले लोकतन्त्रलाई अझ सबल बनाउने तर्क गर्दै संविधानले निर्देश गरेको मार्गअनुसार विधायिका, कार्यपालिका र न्यायपालिकाबीचको सन्तुलन कायम गर्दै राज्य सञ्चालन गर्न आह्वान गरेकी छन्।

उनले भनेकी छन्, 'यस पर्वको मूल सन्देश नै विभेदमुक्त, न्यायपूर्ण, समतामूलक र सभ्य समाजको निर्माणतर्फ सबैलाई प्रेरित गर्नु हो, छठ पर्वले हामी सबैलाई धार्मिक आस्था मात्र नभई राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा  एकता, सहकार्य र जिम्मेवारीका मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।' 

प्रकाशित: १० कार्तिक २०८२ ०७:०५ सोमबार