धर्म/संस्कृति

पाँच दिने माघी मेला अब महिनाभरको ‘रुरु महास्नान’

गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रस्थित रिडीमा हरेक वर्ष लाग्दै आएको पाँच दिने माघी मेलालाई विस्तार गरी अब माघ महिनाभर ‘रुरु महास्नान’ सञ्चालन गरिने भएको छ।

कालीगण्डकी नदीको धार्मिक महिमा र ऐतिहासिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै रिडीलाई प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न रुरुक्षेत्र गाउँपालिकाले यो अवधारणा अघि सारेको हो।

आगामी माघ महिनाभर धार्मिक स्नान, पूजाआजा, दर्शन, तीर्थाटन र धार्मिक-सांस्कृतिक गतिविधि सञ्चालन गर्न गाउँपालिकाले तयारी तीव्र पारेको छ।

यसअघि माघे सङ्क्रान्तिका अवसरमा पाँच दिन मात्र मेला लाग्ने गरेकामा अब महिनाभर नै श्रद्धालु र तीर्थयात्रीको आवागमन बढाउने लक्ष्य राखिएको छ।

महास्नानलाई भव्य, व्यवस्थित र प्रभावकारी बनाउन लुम्बिनी प्रदेश सरकारसमेत सक्रिय बनेको छ। 

प्रदेश वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीको उपस्थितिमा रुरुक्षेत्रमै लुम्बिनी प्रदेश विकास परिषद्को बैठक सम्पन्न भइसकेको छ। बैठकमा मन्त्री चौधरीले महास्नानका लागि मन्त्रालयसहित प्रदेश सरकारका सबै संयन्त्र परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले महास्नानलाई व्यवस्थित बनाउन स्थानीय तहदेखि प्रदेश र सङ्घीय सरकारसम्मको समन्वय तथा सहकार्य आवश्यक रहेको बताउँदै मन्त्रालयसँग सहयोग र सहजीकरणको आग्रह गरे। गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा नै माघ महिनालाई ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने निर्णय गरिसकेको उनले जानकारी दिए।

नेपालका चार धामलाई जोडेर धार्मिक तीर्थाटनको सम्बन्ध विस्तार गर्ने र रुरुक्षेत्रको महिमा थप उजागर गर्ने गाउँपालिकाको लक्ष्य रहेको अध्यक्ष ज्ञवालीले बताए।

यसका लागि चार धामसँग सम्बन्धित स्थानीय सरकार तथा सरोकारवाला निकायसँग तीर्थयात्रा व्यवस्थापन, पूर्वाधार विकास र सेवाको गुणस्तर अभिवृद्धिका विषयमा छलफल अघि बढाइएको उनले उल्लेख गरे।

महास्नानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि पर्यटन मन्त्रालयसँग समन्वय भइरहेको ज्ञवालीले बताए। त्यसैगरी, कालीगण्डकी जलविद्युत् परियोजनाका कर्मचारीहरूको सम्झौताअनुसार आवश्यक समयमा नदीमा पानी छोड्ने विषयमा ऊर्जा मन्त्रालयसँग महत्वपूर्ण छलफल गरिएको उनको भनाइ छ।

कालीगण्डकीको पवित्र जलमा स्नान तथा शालिग्राम दर्शन र पूजाआजाका लागि वर्षैभरि नेपाल र भारतबाट श्रद्धालुहरू रिडी आउने गर्छन्।

हिन्दू धर्मावलम्बीहरूले कालीगण्डकीमा पाइने शालिग्राम शिलालाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गर्ने परम्परा रहेकाले यो क्षेत्र आस्थाको प्रमुख केन्द्र बनेको छ।

माघमा यहाँ स्नान गर्दा धार्मिक पुण्य प्राप्त हुने जनविश्वास भएकाले यही आस्थालाई व्यापक बनाउँदै महिनाभर महास्नान सञ्चालन गर्न सके रुरुक्षेत्रलाई व्यवस्थित धार्मिक तीर्थाटनको केन्द्रका रूपमा विकास गर्न सकिने स्थानीय सुन्दर कसजुले बताए।

माघ महिनाभर महास्नान सञ्चालन हुँदा श्रद्धालु र पर्यटकको सङ्ख्या बढेर स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने गाउँपालिकाको अपेक्षा छ। तीर्थयात्रीको आवागमन बढेसँगै होटल तथा रेस्टुरेन्ट, यातायात, स्थानीय उत्पादन, हस्तकला, पूजा सामग्री र अन्य व्यापारिक गतिविधिमा समेत वृद्धि हुने विश्वास गाउँपालिकाले राखेको छ।

रुरुक्षेत्रको प्रमुख धार्मिक आकर्षणका रूपमा पाल्पाली राजा मणिमुकुन्द सेनले निर्माण गरेको मानिने ऋषिकेश मन्दिर रहेको छ।

यससँगै गायत्री मन्दिर, शिवालय, भीमसेन मन्दिर, भगवती मन्दिर, हनुमान बाटिका, गणेश-भैरव मन्दिर, सत्येश्वर मन्दिर, राम मन्दिर, गुप्तेश्वर महादेव मन्दिर र रुरुकन्या मन्दिरलगायतका स्थलले यहाँको धार्मिक तथा ऐतिहासिक महत्त्वलाई थप उजागर गरेका छन्।

धार्मिक सम्पदासँगै पछिल्लो समय रिडीमा पर्यटकीय पूर्वाधार र प्राकृतिक आकर्षण पनि थपिँदै गएका छन्। भारत र चीनलाई जोड्ने रणनीतिक महत्त्वको कालीगण्डकी करिडोरमा पर्ने रुरुक्षेत्रस्थित कालीगण्डकी नदीमाथि निर्माण भएको नेपालकै पहिलो तीनमुखे झोलुङ्गे पुलले गुल्मी, पाल्पा र स्याङ्जालाई जोडेको छ।

तीन जिल्लाको सङ्गममा रहेको उक्त पुल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक रिडी आउने गरेका छन्। कालीगण्डकीको प्राकृतिक सौन्दर्य, तीनमुखे पुल, धार्मिक मठमन्दिर र पुरानो बजार क्षेत्रको एकीकृत आकर्षणले रिडीलाई धार्मिकसँगै सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुर्‍याएको छ।

महास्नानको तयारीसँगै गाउँपालिकाले कालीगण्डकी नदीको स्वच्छता कायम गर्ने र शालिग्रामको संरक्षण तथा प्रचारप्रसार गर्ने विषयलाई पनि प्राथमिकतामा राखेको छ।

धार्मिक आस्था र कालीगण्डकीको पवित्रतालाई केन्द्रमा राखेर धार्मिक सम्पदाको संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन र पर्यटकीय गन्तव्य विस्तार अभियानलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०८३ १६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App