धर्म/संस्कृति

सबै समुदायको ‘साझा पर्व’ बन्दै तीज

हरितालिक तीजका अवसरमा नाच्दै महिला ।

पहाडी सुमदायले मनाउने हरितालिका तीज पर्व पछिल्लो समय सबै समुदायका महिलाको साझा पर्व बन्दै गएको छ ।  

हिन्दू पहाडीया समुदायका महिलाले मात्र मनाउने तीज अहिले हिन्दू मधेसी महिला, मुस्लिम महिला, जनजाति महिलाले समेत उल्लासका साथ मनाउन थालेका छन् ।  

सबै समुदायले मनाउन थाले पछि तीज समावेशी पर्वका रुपमा विकसित  हुदै आएको छ । जीवन विज्ञान प्रयोगशाला तौलिहवाकी प्रमुख कमला भण्डारीले पछिल्लो समय तीज हरेक समुदायका महिला माझ लोकप्रिय बन्दै गएको बताइन ।  

आफनो संस्थाले राखेको तीज मिलन र सामुहिक दर खाने कार्यक्रममा मधेसी, जनजाति र मुस्लिम समुदायको सहभागीता रहेको बताईन । उनले तीज साझा र समावेशी पर्व बनेको उनको भनाइ छ । कपिलवस्तु नगरपालिका– ३ गौढी चोक की कनिज फातमा हरितालिका तीजमा सामुहिक दर खाई  कम्मर मर्काईमर्काइ नाचिँन ।

उनी एक सातादेखि तीजको कार्यक्रममा सरिक हुदै आएकी छिन । तीजको दिन रातो साडीमा सजिएकी उनी २ घन्टा सम्म नाचिँन । सामूहिक दर खाने कार्यक्रममा निकै रमाएकी एकल महिला फातमाले आफूले निकै रमाईदो गरी तीज मनाएको बताइन ।  

मुस्लिम समुदायको भए पनि सबै मिलेर तीजमा रमाईलो गर्न पाउदा निकै खुशी लागेको अनुभव उनको छ। ‘तीज हिन्दूको मात्र होईन सबै महिलाको चाड हो, यसमा रमाउनु पर्छ ’ उनले भनिन । यस्तै लुम्बिनी प्रदेशकी पूर्वसदस्य रीना नेपालले तीज अहिले हरेक समुदायको महिलाको सहभागीता रहेको बताईन । जिल्लाको दक्षिणी भेगका मधेसी र दलित महिलासमेत तीजमा रमाउन थालेको उनले बताइन ।  

‘बिना कुनै भेदभाव सबै महिलासँग सामूहिक दर खान थालिएको छ,’ उनले भनिन ।

कार्यक्रममा सहभागी भएकी बुद्धभूमि नगरपालिकाकी उपप्रमुख मीरा थारुले केही वर्षयता तीज समावेशी पर्व बन्दै गएको बताईन । केही वर्ष अघिसम्म पहाडी मुलका महिलाले मात्र मनाउने तीज अहिले मुस्लिम, जनजाति, मधेसीलेसमेत मनाउन थालेको उनको भनाइ छ।

पहाडी समुदायको बाहुल्यता रहेको उत्तरी भेगका सीमित तीज जिल्लाको दक्षिणी भेगमा पनि गुञ्जिन थालेको महिला अगुवा माधुरी श्रेष्ठले बताईन । सदरमुकाम तौलिहवामा मात्र विभिन्न गैर सरकारी संस्था, महिला अगुवाले एक दर्जनभन्दा बढी सामूहिक दर खाने खाने कार्यक्रम सम्पन्न गरेका छन । ती कार्यक्रममा मधेसी, मुस्लिम जनजातिको समेत सहभागी भएको श्रेष्ठले बताईन ।  

‘तीज समावेशी पर्व बन्दै गएको छ, जसले गर्दा सामाजिक सदभाव समेत बढेको छ’ उनले भनिन । कांग्रेस जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम खाँले दक्षिणीभेगमा तीजको रौनक बढनु निकै राम्रो कुरा भएको बताए ।  

उनले भने, ‘हरेक समुदायका महिला कार्यक्रममा सहभागी भएकाले तीजले सकारात्मक प्रभाव पारेको छ।’

 

 

प्रकाशित: ७ भाद्र २०८२ १९:२१ शनिबार