बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको स्थल भए पनि आवश्यक संरक्षण र पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ।
हरियाली वनजङ्गल र पहाडको मनोरम दृश्यले घेरिएको यस मन्दिरमा शिवरात्रि, तीजलगायत धार्मिक पर्वमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको छ।
बाँकेसहित छिमेकी जिल्लाबाट समेत श्रद्धालु आउने यस मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना भए पनि आवश्यक पूर्वाधार र प्रचारप्रसार हुन नसकेको स्थानीयको गुनासो छ।
मन्दिरसम्म पुग्ने सडक सहज नहुनुका साथै खानेपानी, शौचालय र विश्रामस्थलजस्ता आधारभूत सुविधाको अभावले भक्तजन तथा पर्यटकलाई समस्या हुने गरेको छ। मन्दिरको धार्मिक महत्त्व र बढ्दो आकर्षणलाई ध्यानमा राखेर संरक्षण तथा पूर्वाधार विकासमा लगानी गर्नुपर्ने स्थानीय युवा विनय दीक्षितले बताए।
स्थानीय युवा रामलाल यादवले धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण मन्दिरमा आउनेको आकर्षण बढ्दै गए पनि संरक्षण र व्यवस्थापनमा अपेक्षित ध्यान पुग्न नसकेको बताए।
सम्बन्धित निकायले समयमै ध्यान दिए यो क्षेत्र एसियाकै आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने उनको भनाइ छ।
पर्यटन व्यवसायी श्रीराम सिग्देलले मन्दिरको प्राकृतिक वातावरण, आध्यात्मिक शान्ति र धार्मिक इतिहास समेटेर पर्यटनमैत्री पूर्वाधार निर्माण गर्नुपर्ने बताए। यसो गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुनुका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ।
स्थानीयले मन्दिरको संरक्षण तथा विकासका लागि प्रदेश र स्थानीय सरकारलगायत सम्बन्धित निकायसँग आग्रह गर्दै आएका छन्। स्थानीय रमेश मौर्यले मन्दिर परिसरको स्तरोन्नति, पहुँच मार्ग सुधार, खानेपानी तथा विश्रामस्थल निर्माण र धार्मिक एवं सांस्कृतिक कार्यक्रमको प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए।
मन्दिर धार्मिक आस्था, इतिहास र सांस्कृतिक पहिचानसँग जोडिएको सम्पदा भएकाले यसको संरक्षण र विकासले नरैनापुरमात्र नभई समग्र बाँके जिल्लाको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने उनको भनाइ छ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले मन्दिरको संरक्षण, व्यवस्थापन र विकासका लागि गाउँपालिकाले निरन्तर पहल गर्दै आएको बताए। सन्तानेश्वर महादेव मन्दिरलाई बाँकेको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावना रहेको उल्लेख गर्दै उनले यसलाई व्यवस्थित र आकर्षक बनाउन प्रदेश तथा सङ्घीय सरकारले पनि विशेष ध्यान दिनुपर्ने बताए।
धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्व बोकेको यस मन्दिरको व्यवस्थित विकास हुनसके नरैनापुरको पर्यटन पहिचान स्थापित गर्न र स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ६ मंसिर २०८३ ०६:१२ आइतबार



