धर्म/संस्कृति

सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व

दशैं र तिहार सकेपछि नेवार समुदायको मानिसले नेपाल सम्वतको पहिलो चाडको रूपमा सकिमना पुन्ही मनाइन्छ। नेवार समुदायले मान्दै आएका हरेक चाडपर्व प्रकृतिमैत्री रहेको देखिन्छ।

वर्षभरि खेतबारीबाट उत्पादन भएका नयाँ मकै, भटमास, गहुँ, पिँडालु तथा सखरखण्ड लगायतका अन्न, गेडागुडी तथा कन्दमूल खाद्यान्नको रूपमा प्रयोग गरी सांस्कृतिक पक्षसँग जोडिएर मानव सभ्यता विकास क्रममा प्रयोग भएको पाइन्छ तर यसको प्रमाणित इतिहास नभए तापनि किराँतकालदेखि नै प्रकृतिले दिएको उपहार अन्न, कन्दमूल लगायतको प्रयोग गरी माैलिक कलाकारिता र संस्कृति विकास भएको मान्न सकिन्छ।मानव प्रकृतिमा आश्रित छ। प्रकृतिबाट पाएको हावा, पानी र अन्न खाएर मानिस लगायत अन्य प्राणी बाँचेको छ। प्रकृतिबिनाको मानव अस्तित्व कल्पनै गर्न सकिन्न। प्रकृतिको यही महत्त्व बुझेर नेपालका विभिन्न जातजातिले प्रकृतिकै अनुसार चाडवाड मान्दै आएको छ।

नेपालका धेरै चाडपर्व प्रकृतिसँग नजिक छ। साथै वैज्ञानिक पनि। नेवारहरूले मान्ने धेरै सांस्कृतिक चाडको प्रकृतिसँग नजिकको सम्बन्ध हुन्छ। यस्तै प्रकृतिमैत्री पर्वहरूमध्ये किराँतकालीन पर्व सकिमना पर्व पनि एक हो।

हिउँद याममा खेतमा काम गर्ने किसानहरूलाई बढी प्रोटिनको आवश्यकता पर्दछ। पिँडालुमा धेरै मात्रामा प्रोटिन पाइन्छ। शरीरका लागि आवश्यक प्रोटिन प्राप्त गर्न समाजको  विकास क्रममा यो प्रचलनको प्रारम्भ भएको अनुमान लगाउन सकिन्छ।हुन त यो पर्वमा पिंडालु मात्र खाइँदैन। अन्य गेडागुडी पनि खाने प्रचलन छ। कार्तिक पूर्णिमामा उसिनेको पिँडालु खाँदा वर्षभरि शरीरलाई पुग्ने प्रोटिन प्राप्त हुने धार्मिक मान्यता छ।

हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमा (कछलाथ्व पुन्ही) लाई उपत्यकाका नेवार समुदाय सकिमिला वा सकिमना पुन्हीका रूपमा मनाउँछन्। यसलाई 'हलिमली पुन्ही' पनि भनिन्छ।  सकिमना पुन्हीको विशेषता पिँडालु, सखरखण्ड आदि उसिनेर खानु नै यो पर्वको विशेषता  हो।

‘सकि’ भनेको पिँडालु र ‘मना’ भनेको उसिन्नु हो। त्यही भएर यो पर्वलाई 'सकिमना पुन्ही' पनि भनिन्छ। धार्मिक मान्यता अनुसार मनाइने यस पर्वमा जीवनका विभिन्न दर्शन पनि समेटिएका छन्।

समय अनुसार अन्न खाएर पर्व मनाउनुले जीवन सहज रूपमा अगाडि बढाउनुपर्छ भन्ने सन्देश दिन्छ। सकिमना पुन्हीको दिन अन्नदान गरे आफ्नो घरमा कहिल्यै अन्न अभाव नहुने र खेतबारीमा बाँझोपनले नसताउने जनविश्वास छ।

नेवार समुदायले ऋतु अनुसारको उब्जनी आफ्नो इष्टदेवलाई चढाएर मात्र खाने प्रचलन छ।नेवार समुदायले पिँडालु, सखरखण्ड लगायत कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाई खाने गर्दछ। यसले शरीरमा ताकत उत्पन्न भई शरीर स्वस्थ हुने जनविश्वास छ।

नेपाल सम्वत अनुसार यो वर्षको पहिलो पूर्णिमा पनि हो परम्परादेखि नै नेवार समुदायले आफ्नो खेतबारीमा उब्जनी भएको अन्न, फलफूल, कन्दमूल आदि पहिले भगवानलाई चढाएर मात्र आफूले ग्रहण गर्ने चलन छ।

यो दिन पनि भगवानलाई कन्दमूल चढाएर आफूहरूले पनि खाने गर्दछन्। सकिमना पूर्णिमा नेवार समुदायले मनाउने विशेष पुर्णिमामध्ये एक हुन्। जुन नेपाल भाषाका दुई शब्द सकि र मना मिलेर बनेको छ। "सकि" भन्नाले पिँडालु हो भने "मना" भन्नाले उसिन्नु हो। आजको दिन पिँडालु उसिनेर खाने भएकाले यसलाई सकिमना पुर्णिमा भनिएको हो।

जाडो महिनामा तरकारीहरूको अभाव हुने भएको हुनाले कन्दमुल (जमिनमुनि पाइने खाना) पनि खान मिल्छ भने सन्देशको प्रतीक यो सकिमना पुर्णिमा मनाउने गर्दछ। सकिमनाको वैज्ञानिक पक्ष दसैंतिहारपछि काठमाडौं उपत्यकामा जाडो याम सुरू हुन्छ।

पिँडालु उसिनेर खाँदा शरीरमा ताप तथा ऊर्जा प्राप्त हुने आधारले यो पर्व मनाएको हुनुपर्छ। भूगर्भीय हिसाबले यस पूर्णिमाको दिन चन्द्रमा पृथ्वीबाट नजिक हुने भएकाले चन्द्रमाको आकार अन्य दिनको पुर्णिमाका चन्द्र भन्दा ठूलो हुने गर्दछ। त्यसो हुँदा मानिस र अन्नमा सकारात्मक ऊर्जा पुग्छ भन्ने विश्वास छ। सकिमनामा किसानको माैलिक कलाकारिता किसानले आफूभित्र लुकेको कला अन्न मार्फत प्रस्तुत गर्ने  दुर्लभ परम्पराका रूपमा यो पर्व मान्छन्। प्रतिस्पर्धा नभए पनि  एउटा कलाकारले अर्को कलाकारसम्म आफू बढी सक्षम भएको सावित गर्ने अवसर हो।

विभिन्न अन्नकाे कलाकृति बनाउनुले हामीमा लुकेको सीप, कौशल र जाँगरिलोपन उजागर गर्छ। यस पूर्णिमाको दिन विभिन्न मन्दिर एवं चैत्य बिहार अगाडि मकै, गहुँ, भटमास, ताँय् (लावा अर्थात् भुटेको धान), माल्पा, स्वारी, तथा अन्य अन्नको देवता, देवताको वाहन, देवताको हतियार, देवताले प्रयोग गर्ने फूल, मन्दिर वा चैत्यको आकृति बनाइने गर्दछ जुन संस्कृतिलाई नेवारी भाषामा हरिमन्दि तथा नसा ब्वयेगु वा हलिमली पर्व भन्ने चलन छ। यसरी नसा ब्वयेगु गर्दा सम्बन्धित ठाउँका दाफा भजनले भजन गरिन्छ।

नेपाल सम्बतको पहिलो महिनामा पर्ने यो बेला अन्नबाली घर  भित्र्याउने काम भइसकेको हुन्छ। अन्नका सृष्टिकर्ता धर्ती मातालाई सम्मान र धन्यवाद दिन उनीहरू साँझदेखि टोलटोलमा बाजागाजाका साथ निस्कन्छन्। भुटेको गेडागुडीले  विभिन्न देवीदेवता र मन्दिरको आकृति बनाई रमाइलो गर्छन्।यसलाई 'हलिमली ब्वयेगु' भनिन्छ। अन्तिममा यी सबै अन्न  प्रसादका रूपमा बाँड्ने चलन छ।

परापूर्वकालमा नेपालमा अनिकाल परेछ। धानको बीउ समेत पाइएन। खानका लागि यहाँ गहुँ, मकै, भटमास जस्ता अन्न मात्र बाँकी भयो। त्यही अन्न खान हुन्छ भन्ने सन्देश दिने उद्देश्यले कार्तिक शुक्ल पूर्णिमाको दिन यस्तै विभिन्न अन्नबाट देवदेवीको चित्र बनाई पछि त्यही अन्न प्रसादको रूपमा खाने चलन बन्यो।

पिँडालु खानुपर्दाको किवन्दन्ती पिँडालु खानु पर्नुको कारण एकपटक रावणले सृष्टिकर्ता ब्रह्मादेखि डाहा लागी सम्पूर्ण दानवलाई मानव गर्न कठोर तपस्या गरेछ। तपस्या सफल भएपछि यहाँ खाने वस्तुको अभाव भयो। त्यसपछि रावणले जमिनमाथि मकै र जमिनमुनि पिँडालु उत्पन्न गरे। पछि सम्पूर्ण देवता र मानव मिली रावणको प्रयास असफल बनाउन कर्कलो सखाप पार्न लागे। त्यसै क्रममा दशहराको दिन कर्कलोको तरकारी खाने, जनैपूर्णिमाको दिन (साराँ) कर्कलोको अचार खाने र यही मंसिर शुक्ल पूर्णिमाको दिन पिँडालु खानुलाई राक्षसको निर्मूल गरेसरह मानिन्छ । जुन परम्परा नेवार समुदायमा यद्यपि छ।

सकिमना पुन्ही ऐतिहासिक पक्ष पशुपतिनाथ मन्दिरको ताम्रपत्रमा उल्लेख भएअनुसार नेपाल संवत् ५६० मा राजा यक्ष मल्ल र उनका भाइ जीव मल्लले आफ्ना दिवङ्गत माता संसारदेवीको नाममा वर्षभरि विभिन्न पूजापर्व उल्लेख गर्ने क्रममा कात्तिक शुक्ल पूर्णिमाको दिन पनि उल्लेख छ तर त्यहाँ सकिमना पूर्णिमा वा हरिमन्दि नभई जुधान पुन्हि उल्लेख गरिएको छ। सो जुधान पुन्हीको खास अर्थ के हो स्पष्ट हुन सकेको छैन। सो दिन पिँडालु उसिनेर खाने चलनले सकिमना पुन्हिबाट प्रख्यात हुँदै आएको हो।

नेपाल संवत् ८१८ मा भूपतीन्द्र मल्लले लेखाएको भक्तपुर दरवार क्षेत्रको मालती चोकको अभिलेखमा तलेजुभित्र सकिमना पुन्हि मनाउने क्रममा तलेजु भवानीलाई खीर चढाउने उल्लेख छ।

साथै तलेजु मूलचोकको स्नेह मण्डपमा नसा ब्वयेगु गरिन्छ। विश्वमै अद्वितीय र माैलिक सांस्कृतिक पर्वको रूपमा रहेको सकिमना पुन्हीलाई संरक्षण र सम्वर्धन गर्न कृषि योग्य जमिनको संरक्षण र उत्पादनलाई प्रवर्द्धन गर्नु आवश्यक छ। यसले पर्यटन प्रवर्द्धन भई राष्ट्रिय आम्दानीमा उल्लेख सहयोग पुग्छ।

प्रकाशित: १९ कार्तिक २०८२ ०९:०७ बुधबार