त्रेता युगमा राम र सीताले एकअर्कालाई रङ तथा अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झने गर्छन्।
फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला विहारीको डोलासँगै कञ्चनवन पुग्ने गर्छ। परिक्रमाका सहभागीले होली खेलेपछि मिथिलाञ्चलमा होली प्रारम्भ भएको मानिन्छ।
रामजीके हाथ कनक पिचकारी...
सीयाजीके हाथ अबिरझोरी...मिथिलामे
मिथिलामा राम खेले होरी...मिथिलामे...
बढ्दो सहरीकरण अनि कमजोर हुँदै गएको सामाजिक सद्भावका कारण फागुको मौलिकता तथा मनोरञ्जनमा कमी आएको अनुभव गर्न थालिए पनि कञ्चनवनको होरीले सामाजिक सद्भाव जोड्ने मात्र काम गरेको छैन, होलीको मौलिकता फर्काउने सेतुको कामसमेत गरेको संस्कृतिप्रेमीहरू बताउँछन्।
जाडोको बिदाइ, गर्मीको स्वागत
होलीका विविध आयाम छन्। मुख्य रूपमा भन्नुपर्दा यो पर्व वसन्त ऋतुको आगमनको पर्व हो। मधेसी जति पनि गर्मी खप्न सक्छन्। कठ्यांग्रिँदो जाडो र शीतलहरले उनीहरूलाई सास्ती थप्छ। होली जाडोको बिदाइ र गर्मीको आगमनको संकेत हो। यही बेला मधेसका खेत खलिहानमा गहुँका बाला लहलह झुलेका हुन्छन्। तोरी फुलेर खेत पहेँलिएका छन्। यो किसानका लागि फुर्सदको समय पनि हो। साँझको शीतल हावा, वसन्त ऋतुको आगमन र कृषि कर्मबाट हुने फुर्सदको सदुपयोग जोगिरा गाएर गर्छन् धमेसका किसान। यस्ता सामूहिक गायनकै कारण होली भित्रिएको सन्देश जन–जनमा पुग्छ।
हराउँदै जोगिरा
‘कौन ताल पर ढोलक बाजे, कौन ताल मृदंग
कौन ताल पर गोरिया नाचे कौन ताल पर हम’
जोगिरा सररर..
श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत हो यो। गाउँटोल घुमेर फागु पर्व आएको जनाउ दिँदै नाचगान गर्दा बढी प्रयोग हुने यो गीत अचेल मधेसका गाउँमा समेत उति सारो सुनिँदैन। यो गीत गाउँदा बजाइने ढोल, मृदंग, डम्फा, झ्यालीजस्ता बाजा अचेल दुर्लभ भए। फागु पूर्णिमाको पहिलो दिन चतुर्दशीको रात पौराणिक पात्र होलिकालाई परम्परागत बाजा बजाउँदै ‘दहन’ गर्ने परम्परा छ।
पहिले र अहिलेको होलीमा धेरै फरक आइसक्यो। सिरहा बरियारपट्टीका ७५ वर्षीय रामपुजन यादव सम्झन्छन्, ‘वसन्त पञ्चमीका दिनदेखि नै हामी दिवाना हुन्थ्यौं।’ अचेल जबर्जस्तीको पर्वजस्तो हुन थालेकामा उनको चिन्ता छ। मौलिकता हराएर विकृति आएको भन्दै उनले नयाँ पुस्तालाई होलीको सांस्कृतिक महत्त्व बुझाउनुपर्ने बताए।
‘खेल्ने तरिका, खानपान सबै फेरियो,’ यादवले भने, ‘विगतमा गाउँबस्तीमा रहेका सबैजना भेला भएर खेलिन्थ्यो तर अचेल गाउँमा मान्छे भेट्नै मुस्किल छ, कहाँबाट भेला भएर होली खेल्नु ?’
होली विशुध आध्यात्मिक र सांस्कृतिक पर्व भएको सिरहा बरियारपट्टि गाउँपालिकाका ६० वर्षीय रामलोचन यादव बताउँछन्। सानो छँदा बाँसको पिचकरी बनाएर खेलेको होली सम्झँदै उनले भने, ‘अचेल उबेलाको जस्तो रमाइलो छैन, संस्कृतिमा विकृति मिसिएको छ।’ गाउँले भेला भएर डम्फा (डम्फु) र ढोलकजस्ता बाजा बजाउँदै होली गीत गाएर मनाउने गरेको उनले सम्झे। ‘जोगिरा गाउँदै घरघर पुग्ने गरिन्थ्यो,’ उनले भने, ‘अग्रजले आशीर्वाद दिन्थे, उमेरदारहरू साथ लागेर नाचगान गर्थे।’
बढ्दो आधुनिकता, मानिसमा फुर्सदको अभाव, सहरमुखी हुनु, पुराना संस्कृतिको प्रवद्र्धनमा ध्यान नजानुले होलीजस्ता मौलिक पर्वमा आकर्षण घट्दै गएको छ। संस्कृति र संस्कारप्रति घट्दो आकर्षण बढाउन युवाहरू जागरुक हुनुपर्ने यादव बताउँछन्।
यादवका अनुसार होली वसन्त पञ्चमीदेखि सुरु हुन्थ्यो। होलीमा अहिले त्यो रौनक, त्यो उमंग छैन। ‘होलीको मौलिक गीतलाई अश्लीलताले छपक्कै छोपेको छ,’ उनले भने, ‘होलीमा सद्भाव, सौहार्दताका लागि व्याकुल समाज अहिले सुरक्षा खोज्दै हैरान हुन्छ।’
यादवका अनुसार मानव जीवनमा रङको मह्त्त्वपूर्ण स्थान हुन्छ। होलीको रङले देशको हिमाल, पहाड र मधेस सबै क्षेत्र समुदायलाई जोडेको छ। होलीको रङले जाति, धर्म, समुदायलाई रंगीन बनाएको छ। पछिल्लो समय होली पर्वमाथि संस्कृतिभन्दा प्रविधि हावी भएको छ। सामाजिक सञ्जालमा आफ्नो उपस्थिति देखाउन मात्र सांकेतिक रूपमा भद्दा स्वरूपमा पर्व मनाउन थालियो। पर्वलाई बजारले जित्यो, यथार्थमा पर्व व्यापार भयो, व्यापारीका लागि अवसर भयो।
यसरी सुरु हुन्छ होली
अरू ठाउँमा मनाइने होली र मिथिलाञ्चलको होलीमा मौलिकताको फरक छ। मिथिलाञ्चलमा फागु पर्वमा सहभागी हुन नवविवाहिताहरू माइती आउँछन्। ज्वाइँलाई पनि पहिलो फागु खेल्न निम्तो पठाइन्छ। मिथिलाका सबै सांस्कृतिक पर्वमा महिलाको महत्त्वपूर्ण भूमिका हुन्छ। महिला सहभागिताविना होलीको कल्पनासमेत गर्न नसकिने मिथिला संस्कृतिका जानकार उमेश झा बताउँछन्। मिथिलाको होली घरमुली महिलाको पूजाबाटै सुरु हुन्छ।
मालपुवा, खिरजस्ता परिकारहरू घरगोसाइँ (कुल देवता) लाई प्रसादका रूपमा अर्पण गरिन्छ। सँगै रङ अबिर पनि पतल (प्रसाद) मा राखिन्छ। घरमुली महिलाको पूजा सकेपछि बल्ल होलीको उमंग सुरु हुन्छ।
एक दशकअघिसम्म मिथिलाञ्चलका टोल–टोलमा वसन्त पञ्चमी (सरस्वती पूजा) सँगै राति फागु गीत गाइन्थ्यो। ग्रामीण इलाकाबाट लोप हुन लागेको फागु गीतलाई जगेर्ना गर्ने उद्देश्यले मिथिला नाट्यकला परिषद् जनकपुरधामले विगत दुई दशक बढी समयदेखि जनकपुरधामको जानकी मन्दिर प्रांगणमा होरी महोत्सवको आयोजना गर्दै आएको छ।
फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुई दिवसीय होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजना गरिन्छ। गीत–संगीतमा धनी मिथिलाञ्चलको होलीमा आजकाल धेरै ठाउँमा ‘लाउडस्पिकर’ मा गीत बजाउने चलन आइसकेको छ। तर कतिपय स्थानमा आफैंले गीत गाउँदै रमाइलो गर्ने परम्परा अझै जीवित छ।
मिथिलाको प्रेमिल होली
नन्द-भाउजू, भाउजू-देवर तथा साली-भिनाजुबीचको फागु मिथिलाञ्चलमा चर्चित छ। भाउजू-देवर तथा साली-भिनाजुबीचको प्रेम रहस्य पनि होलीमै खुल्छ। त्यो वासनायुक्त प्रेम नभई वात्सल्य प्रेमका रूपमा खुल्छ। यसमा यौन आकर्षणभन्दा पनि अभिभावकत्व प्रेम झल्किएको देख्न सकिन्छ। होलीमा देवर-भाउजूबीच जुन खुला रूपमा रङ र अविरको खेल देखिन्छ, यस्ता दृश्यले देवर-भाउजूको प्रेमलाई सतहमा ल्याउँछ। मधेसको बन्द समाजमा होली नै यस्तो पर्व हो, जसले देवर-भाउजूको आत्मीयतालाई सतहमा ल्याइदिन्छ।
अँचरा में घुँघरु लगा दु पिया
हम अलबेली पिया अलबेला
अर्थात् ‘मेरो आँचलमा बुट्टा भरिदेऊ प्रिय, किनकि म मातिसकें र तिमी पनि मातिसक्यौ।’ श्रीपञ्चमीदेखि सुरु हुने फागु गीतको शृंखला होलीसँगै सकिन्छ।
यसकारण मनाइन्छ होली
विष्णुपुराणमा उल्लेख गरिएअनुसार दैत्यराज हिरण्य कश्यपकी बहिनी होलिका नाममा यो पर्वको नामकरण भएको हो। होलिकाको दहन भएको खुसीमा प्रत्येक वर्ष हिन्दू धर्मावलम्बीले यो पर्व मनाउँदै आएका छन्। हिरण्यकश्यपले आफ्नो राज्यमा भगवान् विष्णुको पूजापाठमा प्रतिबन्ध लगाएर स्वयंलाई भगवान् घोषित गरी प्रजालाई ‘मेरो पूजा गर्नु’ भनेर कडा निर्देशन जारी गरेको थियो। तर, उनको आफ्नै छोरा प्रह्लादले पिताको निर्देशनलाई अवज्ञा गर्दै भगवान् विष्णुको पूजा गरिरहे। प्रह्लादले पिताको आज्ञा नमानेपछि होलिकाको माध्यमबाट जलाएर मार्ने प्रयास गरियो।
ब्रह्माबाट आगोमा नजल्ने वरदान पाएकी होलिकाले प्रह्लादलाई काँखमा राखेर चारैतिर पराललगायत जल्ने वस्तुको घेरा बनाउन लगाएको र त्यसमा आगो लगाउन भनिएको थियो। उल्टै आगोमा होलिका नै जलेर भस्म भइन्। असत्यको बाटो अपनाएको कारणले बरदान फलिफाप भएन। असत्यमाथि सत्यको विजय भयो। त्यसपछि, सोही तिथिमा यो पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ।
प्रकाशित: १९ फाल्गुन २०८२ ०९:५० मंगलबार