पाँच दीपङ्कर बुद्धलाई नगर परिक्रमा गराउँदै आज भक्तपुरमा ऐतिहासिक एवं सांस्कृतिक ‘पञ्चदान’ पर्व मनाइँदै छ।
बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात् ‘पञ्चदान चह्रे’ का दिन काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा यो पर्व मनाउने गरिन्छ।
स्थानीय नेपाल भाषामा ‘पञ्जदान’ वा ‘पञ्जरां’ भनिने यस पर्वका अवसरमा पृथ्वीबाट उत्पादित अन्न, फलफूललगायत पाँच प्रकारका वस्तु दान गर्ने प्रचलन छ।
पर्वको अवसरमा बिहानै नगरका पाँच महाविहारबाट निकालिएका पाँच दीपङ्कर बुद्धलाई भक्तपुर नगरपालिका-९ स्थित सूर्यमढी डबलीमा भेला गराइएको थियो। प्रशन्नशील महाविहार क्वाठण्डौंको मूल दीपङ्कर बुद्धसहित चर्तुब्रह्म महाविहार साकोठा, मङ्गलधर्म दीप महाविहार झौरवही पलिखेल, जयकीर्ति महाविहार थथुवही इटाछें र बौद्ध समकृत विहार कुथुवहीका दीपङ्कर बुद्धलाई दिनभर नगरका विभिन्न स्थान तथा विहारमा परिक्रमा गराइँदै छ।
उपत्यकाका अन्य क्षेत्रको तुलनामा भक्तपुरको पञ्चदानको आफ्नै मौलिक विशिष्टता छ। नगरको पूर्वमा रहेको आदिपद्म महाविहारबाट सुरु हुने पूजा नगरको पश्चिमस्थित थथुवहीमा पुगेर सम्पन्न हुने गर्दछ। पर्वका अवसरमा श्रद्धालुहरूले दीपङ्कर बुद्धसँगै शाक्य, बज्राचार्य तथा भिक्षुहरूलाई हातमा पिण्डपात्र (गुलुपा) लिन लगाई भिक्षा अर्थात् दान दिने गर्दछन्।
पञ्चदानमा सूर्यमुखी फूल, धूप, दीप, गन्ध, रसका साथै धान, चामल, गहुँ, मकै, भटमास, क्वाँटी, ढिके नुन, घिरौँला, बोडी, काँक्रो, पिँडालु र मुलाजस्ता जमिनमा फलेका काँचो खाद्यवस्तु दान गरिन्छ।
यसैगरी सख्खर पानी (सखत), फलफूल, हर्रो, अमला, गुलःलगायतका औषधि, तेल, सियो, धागो, डोरी, कुचो, सेतो कपडा र काषाय वस्त्रसमेत दान गर्ने परम्परा रहेको छ। पञ्चदानको दिन नेवार समुदायमा घरघरमा क्वाँटी बनाएर खाने चलन पनि छ।
स्थानीय बौद्धमार्गी अल्बर्ड बज्राचार्यका अनुसार आफ्ना पूर्वज तथा बुद्धका अनुयायीहरूले आर्जन गरेको कुल आयको केही अंश दानका लागि छुट्याएर यस दिन चढाउने चलन रहेको छ।
कतिपयमा पाँच दीपङ्कर बुद्धलाई पाँच पाण्डवका रूपमा बुझ्ने भ्रम रहेको उल्लेख गर्दै उनले ती पाँचै स्वरूप दीपङ्कर बुद्धकै भएको स्पष्ट पारे।
पर्वका क्रममा बालबालिकादेखि वृद्धवृद्धासम्म भिक्षाग्रहणका लागि लामबद्ध हुने गर्दछन्। यद्यपि, पछिल्लो समय नयाँ पुस्तामा भिक्षा लिन लजाउने प्रवृत्ति बढेको सहभागीहरूको अनुभव छ।
भक्तपुर–१० क्वाठण्डौंका उज्ज्वलचन्द्र बज्राचार्यले आफू ३–४ वर्षको उमेरदेखि नै सहभागी हुँदै आए पनि हिजोआजका युवाहरू पञ्चदान लिन हिचकिचाउने गरेका कारण विगतको तुलनामा सहभागिता घट्दै गएको बताए।
पर्वको अर्को मुख्य आकर्षण गुँलाबाजा हो। टौमढीमा बौद्धमार्गीहरूले दान गाथा तथा स्तोत्र वाचनसँगै विशेष रूपमा गुँला धाः बाजा बजाएका छन्।
दीपङ्कर बुद्धको यात्राका क्रममा प्वंगा, दाफा भजन तथा श्रृङ्गभेरीलगायतका परम्परागत बाजागाजाका समूहले साङ्गीतिक प्रस्तुति दिएर नगरको वातावरण गुञ्जायमान बनाएका छन्।
मल्ल राजा नरेश मल्लको शासनकालमा नेपाल संवत् ७७५ मा जयदेव बज्राचार्यले भक्तपुरमा पञ्चदान पर्वको सुरुआत गराएको ऐतिहासिक मान्यता छ।
यता, भक्तपुर नगरपालिका-२ तेखाचोस्थित जेतवर्ग महाविहार आरती गुथि नेवा सङ्घले पर्वलाई थप मर्यादित र सफा बनाउन पञ्चदानमा चढाइने सामग्रीहरू छुट्टाछुट्टै प्याकिङ गरी व्यवस्थित रूपमा चढाउन श्रद्धालुहरूलाई आग्रह गरेको छ।
प्रकाशित: २४ भाद्र २०८३ १५:५१ बुधबार