वर्षभरिमा एक कुकुर तिहार पर्दछ। त्यस दिन कुकुरलाई सम्मान तथा पूजा गरी माला लगाइदिने र मिठो परिकार खुवाउने गरिन्छ। घरमा कुकुर नहुनेले पनि खोजीखोजी कुकुरको पूजा गर्छन्।
कतिपयले छाडा कुकुरलाई पनि माला लगाइदिएर मिठो खानेकुरा खुवाई सम्मानका साथ पूजा गरेको देखिन्छ। यहाँनेर प्रश्न उठ्छ- एक वर्षमा एक दिन पूजा एवं सम्मान गरेर कुकुरप्रतिको हाम्रो दायित्व पूरा हुन्छ? आइतबार भक्तपुरमा भएको एक कार्यक्रमका सहभागीहरूले एक दिन पूजा गर्ने अनि वर्षभरि बेवास्ता गर्ने मानवीय व्यवहारको अन्त्य हुनुपर्नेमा जोड दिए।
तिहारका अवसरमा एभरेस्ट स्कुल भक्तपुरले आयोजना गरेको कार्यक्रमका वक्ताहरूले कुकुर तिहारले मानिस र जनावरबिचको सम्बन्धलाई सम्मान गर्ने अवसर दिएको भन्दै कुकुरको महिमा गाए। परम्परागत रूपमा कुकुरलाई यमदूतको प्रतीकका रूपमा पनि पूजा गरिन्छ। उनीहरूका अनुसार घरको सुरक्षादेखि लिएर साथीको न्यानोपन कुकुरले दिने गर्छ, तर वर्षको बाँकी दिनमा सडकमा भोक, रोग र बेवास्ताका कारण धेरै कुकुर दुःख भोगिरहेका छन्। उनीहरूले थपे, ‘कुकुर हाम्रो समाजको मौन र निष्ठावान् सदस्य हो। उनीहरू बोल्दैनन्, तर बुझ्छन्। त्यसैले कुकुरप्रति माया र जिम्मेवारी एक दिनको ‘पूजा’ मा सीमित नराखी वर्षभरको ‘मानवता’ मा रूपान्तरण गर्न आवश्यक छ।’
काठमाडौं, भक्तपुर, ललितपुरलगायतका सहरमा सडकमा हिँड्दा दर्जनौं कुकुर प्लास्टिकमा खानेकुरा खोज्दै रोगले ग्रसित र गाडीले ठक्कर दिएर घाइते अवस्थामा देखिन्छन्। स्थानीय सरकार र पशु सेवा विभागले कुकुर नियन्त्रणका नाममा कहिलेकाहीं विष हाल्ने वा अनियोजित रूपमा तर्साउने जस्ता उपाय अपनाउँछन्। यो व्यवहारले ‘कुकुर तिहार’ को मूल भावनालाई नै कमजोर बनाउँछ।
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी भन्छन्, ‘तिहारमा एक दिन माला र भोग दिएर कुकुरप्रतिको सम्मान ठहरिँदैन। उनीहरूलाई हरेक दिन खाना, उपचार र सुरक्षित वातावरण चाहिन्छ।’ त्यही भावनाका साथ स्कुलले छाडा टोलका छाडा कुकुरको हेरचाह गर्दै आएको उनले जानकारी दिए। साथै बाटोमा घाइते अवस्थामा रहेको एउटा कुकुरलाई पाल्ने गरी स्कुलमै पालनपोषण गर्दै आएको जानकारी पनि उनले दिए।
‘त्यो कुकुरको नाम सहारा राख्यौं,’ उनले भने, ‘सहाराको नामबाट एउटा पुस्तक पनि प्रकाशन गर्यौं, जुन अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित छ।’ पुस्तक स्कुलका प्रमुख कार्यकारी अधिकृत प्रवेश राजभण्डारीले लेखेका थिए।
प्रकाशित: ३ कार्तिक २०८२ १०:२५ सोमबार