कार्तिक कृष्ण त्रयोदशीका अवसरमा शनिबार यमराजको दूतका रूपमा कागलाई पूजा गरी मीठामीठा परिकार खान दिएर काग तिहार मनाइएको छ।
काग तिहारसँगै नेपालीको दोस्रो ठुलो चाड तिहार (यमपञ्चक) सुरु हुने शास्त्रीय मान्यता भए पनि यस वर्ष तिथिको घटबढका कारण शुक्रबारदेखि नै यमपञ्चक आरम्भ भएको हो।
यमपञ्चकको पहिलो दिन धनतेरस परेकाले आज दोस्रो दिन सूर्योदयकालमा परेको त्रयोदशी तिथिमा काग तिहार मनाइएको हो। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म तिहार धुमधामका साथ मनाइन्छ।
यमराजले पृथ्वीलोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा पूजा गर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए।
कागले यमराजसमक्ष शुभ खबर लगिदियोस् भन्ने कामनासहित आजका दिन मीठामीठा खानेकुरा दिएर खुसी पार्ने गरिएको उनले बताए। लोकव्यवहारमा घरआँगनमा काग आएर कराउँदा ‘शुभ बोल, शुभ बोल’ भन्ने चलन छ। कागले खबर लिएर आउने जनविश्वास रहिआएको छ।
शास्त्रमा ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दहीभात मन पर्ने उल्लेख भएकाले आज दहीभात खुवाउँदा यमराजसमक्ष राम्रो सन्देश पुग्ने धार्मिक मान्यता छ।
दुष्कर्म गर्नेलाई यमराजले दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराजका रूपमा रक्षा गर्ने विश्वास पनि यस पर्वसँग जोडिएको छ। यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा दक्षिण फर्काएर यमदीप दान गर्ने क्रम आज साँझ पनि जारी रहनेछ।
काग तिहारका अवसरमा आज काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ स्थित प्रसिद्ध कागेश्वरी मन्दिर, पशुपति क्षेत्र र वसन्तपुर दरबार क्षेत्रमा रहेका कागेश्वरी मन्दिरमा बिहानैदेखि पूजाआजा तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको थियो।
प्रकाशित: २१ कार्तिक २०८३ १९:३६ शनिबार



