धर्म/संस्कृति

घण्टाकर्ण ‘गठांमुगः द्यो’

संस्कृति

 हरेक वर्ष श्रावण कृष्ण त्रयोदशी तथा चतुर्दशीका दिन ‘गठे मंगल’ पर्व सम्पन्न गरिन्छ। यस पर्वको मुख्य आकर्षण घण्टाकर्णलाई ‘द्यो’ अर्थात् देवता भनिन्छ। यो एक प्रकारको भूत हो। त्यसैले यो अत्यन्त बलियो थियो। यसले काम धेरै गर्ने गर्थ्याे। त्यही भएकाले यसलाई खाना पनि धेरै नै खानुपर्थ्याे। असारको बेला रोपाइँमा यसले काम सघाइदिन्थ्यो भन्ने किंवदन्ती पनि छ। यसरी सहयोगी भए पनि ‘घण्टाकर्ण’ बदमास थियो। त्यसैले यसलाई टोलवासीले जलाइदिए। ऊ जलेर मरेको दिनको सम्झनामा हरेक साल श्रावण कृष्ण त्रयोदशीका दिन गठांमुगः चह्रे मनाइन्छ भन्ने प्रचलन छ। गठामुंग चह्रे पर्वलाई ‘गठे मंगल’ तथा ‘घण्टाकर्ण’  पनि भनिन्छ। घन्टजस्तो कान भएको विध्वंशकारी राक्षसको कथासँग जोडिएको पर्व भएकाले यसलाई घण्टाकर्ण भनिएको हो। नेवारी भाषामा घण्टाकर्णलाई ‘गठांमुगः द्यो’ भनिन्छ।

घण्टाकर्णले गाउँटोलमा दुःख दिने, अशान्ति मच्चाउने भएकाले टोलवासी मिलेर यसलाई समाती यसको जिउँदै अन्त्यष्टि गरेको प्रतीत हुन्छ। छवाली आदिले बनाइएको घण्टाकर्णलाई मरेको मुर्दा झैं सुताएर नबोकी उभ्याएर तथा झ्याइँकुटी पार्दै बोकेर दाहसंस्कार गर्छन्।

 गठेमुंगको सालिक टोलभरिका खासगरी नानीहरूले आआफ्ना पुतलीले सजाइदिने गरिएको कुरालाई मध्यनजर गर्दै कतिपय अध्येताले घण्टाकर्ण केटीमाझ निकै लोकप्रिय भएको तथा ज्यादै यौन प्रिय प्राणी भएको अन्दाज गरेका छन्।

कथानुसार एउटा दैत्यले भगवान्को नाम कसैले उच्चारण गरेको सुन्नुपर्ला भनेर आफ्ना दुवै कानमा ठुला ठुला घन्ट झुन्ड्याएर हिँड्थ्यो। त्यसैले यसलाई घण्टाकर्ण भनियो। कसैले भगवान्को नाम उच्चारण गर्ला जस्तो शंका लाग्नेबित्तिकै ऊ टाउको हल्लाएर दुवै घन्ट बेसरी बजाउँथ्यो। गाउँका मानिसलाई सताउँथ्यो।

एक दिन एउटा भ्यागुताले बिहानै सिकारको खोजीमा गाउँ पस्दै गरेको यस राक्षसलाई झुक्याएर धापको बाटो  देखाइदिएछ। यो विशालकाय राक्षस भासिएको थाहा पाएर टोलभरिका मान्छे आएर ‘घण्टाकर्ण’लाई ढुंगा हानी–हानी मारेछन्। त्यही समयदेखि त्यो मारिएकै दिन पारेर हरेक वर्ष गठांमुगः चह्रे मानिन थालियो भनिन्छ।

यस्तै अर्काे कथनअनुसार ‘गठांमुगः द्यो’ एउटा शक्तिशाली सामन्ती थियो। डरत्रास या करकाप जसरी भए पनि ऊ समाजमा देवतासरह मानिएको थियो। तर ऊ निकै मात्तिँदै गएर आचरण साह्रै बिगारेकाले सबै टोलवासी मिलेर उसलाई देश निकाला गरी अन्त्येष्टिसमेत गरे। त्यसैको प्रतीकस्वरूप गठांमुगः चह्रे मानिँदै आएको हो भन्ने किंवदन्ती पनि पाइन्छ।

यो नेपालको र खासगरी नेवार समुदायले मनाउँदै आएको प्राचीन चाडमध्ये एक हो। तर गठामुंग चह्रे पर्व कहिलेदेखि मनाउन थालियो भन्ने विषयमा यकिनसाथ भन्न सकिएको छैन। गठेमंगलबारे लेख्ने सर्वप्राचीन स्रोत ‘रुद्रयामल तन्त्र’ हो। जसअनुसार उहिले एक तान्त्रिकले भ्यागुताको रूप धारण गरी मानिसहरूले त्यो भयङ्कर राक्षसलाई मार्न सक्ने वातावरण सिर्जना गरे।

घण्टाकर्ण नाम गरेको राक्षसलाई यही श्रावण चतुर्दशीका दिन मार्न सफल भएको स्मृतिस्वरूप यो पर्व मनाउन थालियो। घण्टाकर्णको स्वरूप बनाउनका लागि कुसलेहरूले टोलका विभिन्न घरबाट छवाली तथा पराल माग्दै हिँड्छन्। त्यसैका माध्यमबाट यिनीहरूले घण्टाकर्णको प्रतिमा बनाउँछन्। त्यस पुतलाको हात, खुट्टा, अनुहार आदि घिरौंला, मकै, नाङ्लो आदिका माध्यमद्वारा बनाएर सिँगार्ने गर्छन्। अपराह्नतिर उक्त पुतलालाई सिस्नुले हिर्काउँदै सबै मिलेर तान्छन्।

यसरी तान्दा अनेकौं अश्लील शब्द बोल्ने गर्छन्। त्यस्तै काठमाडौं उपत्यका र वरपरका अन्य नेवार वस्तीमा प्राचीनकालदेखि हालसम्म पनि सम्पन्न गरिँदै आएको गठांमुगः उपत्यकाको विभिन्न क्षेत्रमा मनाइँदै आएको छ। सहरका विभिन्न भागमा मनाइने गठांमुगःको मूल आशयमा भने खासै भिन्नता पाइँदैन। चोक चोकमा अनेकौं संख्यामा गठांमुगःका प्रतिमा बनाइने गरिन्छ र अन्तमा यसलाई जलाइन्छ।

यो त भयो घरबाहिर गर्ने कार्य। घरभित्र पनि सो दिन भूत भगाउने कार्य गरिन्छ। जसअन्तर्गत दिउँसोतिरै वन तथा बारीबाट कर्कलो, उन्यु, सिस्नु, धसिंगेरी, फर्सीका पात आदि वनस्पति भेला पारेर सुकाइएको हुन्छ। साँझमा गठामुंग द्योको अन्त्येष्टि भएको थाहा भएपछि ती वनस्पतिका दुई मुठा बनाइन्छ। त्यसलाई बालेर घरको चारै सुरको अलि अलि माटो लाएर बालिएका दुई मुठामध्ये एकलाई मूलद्वारअगाडि स्थापना गरिएको कुमार देवता पिखलाक्खेमा राखिन्छ। अर्काे राँको चाहिँ छवासलमा फालिन्छ।

यो छवासल खासगरी मृतकको नाममा एउटा डालोमा कुचो, मृतकले प्रयोग गरेका वस्त्र आदि राखेर फाल्ने तथा यस्तै भूतप्रेत आदि मन्साउँदा लगेर फाल्ने ठाउँ हो। छवासलमा सो भूत भगाइएको राँको फाल्न जाँदा घर घरबाट एक एक सुकुन्दा तथा हँसिया लिएर महिलाहरू जान्छन्। सबैले छवासलमा राँको फालेपछि वरिपरि बसेर उक्त सुकुन्दाको ज्वालामा हँसिया थापी गाजल बनाएर घरका सबै सदस्यले लगाउने चलन पनि छ।

यसरी घरका कुना काप्चामा यसप्रकारका विभिन्न वनस्पतिले बनाइएको राँको घुमाउनाले घरमा भएका भूतप्रेत भाग्ने र पुनः वास गर्न नसक्ने विश्वास गरिन्छ। त्यस प्रकारले बनाइएको गाजल लगाउनाले आँखा नदुख्ने तथा नपाक्ने विश्वास गरिन्छ। यता घरबाट भूत खेद्दै बाहिर निस्केपछि मूलद्वार तथा झ्यालमा फलामका किला ठोकी भूतप्रेत घरभित्र पस्न नपाउने गरिन्छ। रोग नलागोस् भनेर फलामका औंठी लगाउने पनि गरिन्छ। कतै कतै यस दिन केटाकेटी तथा महिलाहरू स्थानीय वनस्पति विशेष कुटेर हातगोडामा मेहन्दी लगाउँछन्। जसलाई नेवारी भाषामा ‘लैंचा छिगु’ भनिन्छ। जात्रा सकिएपछि बेलुका सबै मिली समयबजी खाने चलन छ।

नेपाललगायत काठमाडौं उपत्यका परम्परागत रूपमा कृषि व्यवसायमा आश्रित बस्ती भएकाले यहाँ प्राचीन कालदेखि नै गठांमुगःजस्तो कृषिकेन्द्रित पर्वको महत्त्व रहँदै आएको हो।

भर्खर खेतीको काम सकिएपछि बेफुर्सदले घरको कुनाकाप्चामा थुप्रिएको फोहोरमैला सफा गर्नु तथा विभिन्न वनस्पतिको राँको बाली कीटपतङ्ग नष्ट गर्नुको अर्थ उल्लेख्य छ। तराई तथा पहाडी क्षेत्रमा लुतो र भूत भगाउने नाममा साउने संक्रान्तिको जुन महत्त्व छ, काठमाडौं र वरपरका नेवार बस्तीमा गठेमुंगको पनि त्यही महत्त्व छ।  

प्रकाशित: १० श्रावण २०८२ ०९:२३ शनिबार

# Nagariknews # Gathe Mangal