धर्म/संस्कृति

चैत्र १६ देखि ‘बृहत् पाशुपत पदयात्रा’ सुरु हुने

३५ दिनमा चौसट्ठी सिद्धलिङ्ग दर्शन गर्ने योजना

 पशुपतिनाथसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक महत्त्व उजागर गर्ने उद्देश्यले ‘बृहत् पाशुपत क्षेत्र पदयात्रा–२०८२’ आयोजना गरिने भएको छ। पदयात्राको तयारीका विषयमा ललितपुरको जावलाखेलस्थित सत्सङ्ग भवनमा आयोजित विद्वत्सभाले कार्यक्रमलाई राष्ट्रिय स्तरको धार्मिक अभियानका रूपमा अघि बढाउने निर्णय गरेको छ।

महेश सन्न्यास आश्रमका पीठाधीश तथा महेश संस्कृत गुरुकुलम्‌का अध्यक्ष स्वामी रमणानन्द गिरिको परिकल्पनामा ‘चौसट्ठी सिद्धलिङ्ग दर्शन’ सहितको बृहत् पाशुपत पदयात्रा आयोजना गर्न लागिएको हो।  

पदयात्रा कार्यक्रमको जानकारी दिन आयोजित विद्वत्सभामा विभिन्न क्षेत्रका विद्वान्, अध्यात्म साधक तथा भक्तजनको सहभागिता थियो।

कार्यक्रमका सहभागीहरूले पशुपतिनाथ क्षेत्रको धार्मिक महत्त्व, वाग्मती नदीको पवित्रता तथा सनातन संस्कृतिको संरक्षणका विषयमा चर्चा गरेका थिए। प्राध्यापक भवानीप्रसाद खतिवडाले पाशुपत क्षेत्रको महत्त्वबारे प्रकाश पार्दै धार्मिक जागरणका लागि यस्तो पदयात्रा महत्त्वपूर्ण हुने बताए।

शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला, आचार्य कपिलदेव सुवेदी, उपप्राध्यापक डा. रामप्रसाद पौडेल, अनुसन्धाता श्यामकृष्ण सुवेदीलगायतले आफ्नो धारणा राखेका थिए। उनीहरूले पशुपतिनाथ र पाशुपत सभ्यताबारे अध्ययन–अनुसन्धान बढाउन र युवापुस्तालाई धार्मिक–सांस्कृतिक ज्ञानसँग जोड्नुपर्नेमा जोड दिएका थिए।

विद्वत्सभाको सञ्चालन र सहजीकरण गरेका नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका उपप्राध्यापक तथा महेशछात्र परिषदका संस्थापक अध्यक्ष डा. उमेशप्रसाद घिमिरेले पशुपति संरक्षित नेपाल राष्ट्रलाई धर्मराष्ट्रका रुपमा पुन: स्थापना गर्न सक्ने ऊर्जा ग्रहण गर्न समस्त धर्मप्राण सनातनी नेपालीले सामूहिक तथा राष्ट्रिय धर्मजागरण अभियानक रुपमा यो परिक्रमामा भाग लिनुपर्ने बताए ।  

पदयात्राको उद्घाटन चैत्र १५ गते पशुपति क्षेत्रमा विशेष पूजा र अनुष्ठानसहित गरिनेछ भने चैत्र १६ गतेदेखि पदयात्रा सुरु हुनेछ। पदयात्रा आदिलिङ्ग कुशेश्वर महादेवको दर्शनबाट प्रारम्भ भई विभिन्न तीर्थस्थल हुँदै चौसट्ठी सिद्धलिङ्ग दर्शन गर्ने योजना छ।

पदयात्रामा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, धादिङ, नुवाकोट, सिन्धुलीलगायतका क्षेत्रका धार्मिक तथा सिद्धस्थल समेटिनेछन्। आयोजकका अनुसार सम्पूर्ण यात्रा सम्पन्न गर्न करिब ३५–३६ दिन लाग्ने अनुमान गरिएको छ।

विद्वत्सभाले पदयात्रालाई सफल बनाउन मूल आयोजना समिति तथा विभिन्न उपसमितिहरू गठन गरेको छ। धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण र आध्यात्मिक जागरणका लागि यस्तो अभियान महत्त्वपूर्ण हुने सहभागीहरूले बताएका छन्।

आयोजकले नेपाल तथा भारतका साधुसन्त, विद्वान्, भक्तजन र सर्वसाधारणलाई पदयात्रामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आह्वान समेत गरेका छन्।

प्रकाशित: २८ फाल्गुन २०८२ १६:२८ बिहीबार