धर्म/संस्कृति

गौरापर्व सामाजिक पुनर्मिलनको अवसर होः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले गौरापर्व सामाजिक पुनर्मिलनको अवसर भएको बताएका छन्।

गौरापर्व २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले गौरापर्वले परिवार, आफन्तजन र समुदायबीचको सम्बन्ध पुनः सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। गौरी–महेश्वरको आराधना गरिने गौरापर्व धार्मिक आस्था, सांस्कृतिक सम्पदा र सामाजिक एकताको अनुपम प्रतीक हो। यस पर्वमा पाँच प्रकारका अन्नको मिश्रण ‘बिरुडा’ प्रसादस्वरुप ग्रहण गर्ने परम्परा रहिआएको छ। यस अवसरमा देउडा, धमारीजस्ता लोकनृत्य तथा गीतमार्फत महिला–पुरुष छुट्टाछुट्टै गोलबद्ध भई सामूहिक उत्सवका रूपमा मनाउने चलनले गौरापर्वलाई थप जीवन्त बनाएको छ।

उपराष्ट्रपति यादवले भनेका छन्, 'हिन्दू नारीद्वारा सुसौभाग्य, शुद्धता, सुख–शान्ति तथा समृद्धिको कामनासहित मनाइने यो पर्व एक सुसंस्कृत अनुष्ठानमात्र नभई भ्रातृत्व, सहअस्तित्व र मातृभूमिप्रतिको गहिरो प्रेमको अभिव्यक्ति पनि हो, विशेषतः विदेशमा रहेकाहरूले यस पर्वका अवसरमा आफ्नो थातथलोमा फर्केर पूजाआराधना गर्नु माटोप्रतिको उनीहरूको निष्ठा र भावनात्मक सम्बन्धको सशक्त प्रमाण हो।'

गौरापर्वले जात, वर्ग, लिङ्ग वा हैसियतको भेदभावबिना सबैले एउटै वृत्तमा हातेमालो गर्दै पर्वको उल्लासमा सहभागी हुने परम्पराले सामाजिक समता, सहिष्णुता र सहअस्तित्वको सन्देश फैलाउने उनको भनाइ छ। 'यस पर्वले हाम्रो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा भावी पुस्तामा यसको हस्तान्तरणको आवश्यकतालाई पनि स्मरण गराउँदछ,' उपराष्ट्रपति यादवको सन्देशमा भनिएको छ।

उपराष्ट्रपति यादवले चाडपर्वलाई केवल धार्मिक अनुष्ठानमा सीमित नराखी, लोककल्याण र सामाजिक समृद्धिको माध्यमका रूपमा प्रयोग गर्न सकियो भने पर्वहरू राष्ट्र निर्माणका आधार बन्न सक्ने विश्वास व्यक्त गरेका छन्। उनले भनेका छन्, 'गौरापर्वले नेपाली राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकतालाई अझ सुदृढ बनाउने विश्वासका साथ पुनः सम्पूर्ण नेपाली समुदायमा यो पावन पर्वका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु।'

प्रकाशित: १५ भाद्र २०८२ ०७:३० आइतबार