धर्म/संस्कृति

रामजानकी विवाह महोत्सव पाँचौँ दिन: आज मटकोर मनाइँदै

बिहीबारदेखि  जनकपुरधाममा सुरु भएको सप्ताहव्यापी रामजानकी विवाह महोत्सव अन्तर्गत पाँचौँ दिन आज मटकोर कार्यक्रम मनाइँदै छ।

जनकपुरधामको गंगासागर पोखरीमा रामजानकी विवाहको पूर्वसन्ध्यामा मटकोर गराइने छ। जानकी मन्दिरबाट बालबालिकालाई सीतारामको पहिरन तथा साजसज्जा गराई बाजागाजासहित गंगासागर पोखरीमा पुगेर मटकोर विधि गराइने छ।

जानकी मन्दिरबाट निस्किने जानकीको डोलासहित श्रद्धालुहरूले गंगासागरबाट माटो खनेर लग्ने गर्छन् र सोही माटोबाट विवाहको वेदी निर्माण गरिन्छ। जुन वेदीमा मंगलबार राति राम सीताको विवाह हुने छ।

मिथिलामा विवाह पूर्व बेहुला र बेहुलीलाई मटकोर गर्ने चलन रहेको छ। सोही चलन अनुसार जानकी मन्दिरका छोटे महन्त रोशन दासको नेतृत्वमा हजारौँको संख्यामा श्रद्धालुहरू गंगासागरमा पुगी सीतारामको मटकोर मनाइने गरिन्छ।

मटकोरको प्रसादमा भिजाएको चना, चामल र खाने तेल वितरण गरिएको थियो। शुद्धीकरणका लागि मटकोर गर्ने परम्परा रहेको छ।

मैथिली परम्परा अनुसार हुने विवाहको सबै विधि राम सीता विवाह अर्थात विवाह पञ्चमीमा हुने गरेको छ। विवाह महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन कार्यक्रम, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञको कार्यक्रम सम्पन्न भइसकेको छ।

त्यस्तै रामजानकी विवाह महोत्सव अन्तर्गत चौथो दिन राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव मनाइएको हो।तिलकोत्सवको अवसरमा जानकी मन्दिरबाट कोसेली भारु लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णव राम मन्दिर पुगेका थिए। प्राचीन मिथिलाका राजा जनकको भूमिकामा राम मन्दिर पुगेका जानकी मन्दिरका उत्तराधिकारी राम रोशन दास र भारत आयोध्यका राजा दशरथको भूमिकामा राम मन्दिरका महन्तबिच सम्धी मिलन गराइएको थियो।

विवाह महोत्सवको छैटौँ दिन भोलि (मंगलबार) जानकी मन्दिरबाट सीताकी डोला बाह्रबिघा मैदानमा पुर्‍याएर त्यहाँ सीतारामको विवाह कार्यक्रम सम्पन्न भएपछि मंसिर १० गते रामकलेवा गरी जन्ती एवं साधु सन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव सम्पन्न हुने छ।

जनकपुरमा मनाइने सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा नेपाल र भारतको विभिन्न स्थानबाट लाखौँको संख्यामा श्रद्धालुहरू सहभागी हुँदै आएका छन्। श्रद्धालुहरूलाई बस्नका बाह्र बिघा मैदानमा पण्डाल बनाइएको छ।अहिले श्रद्धालुहरूले जनकपुर भरिभराउ बनेको छ।

प्रकाशित: ८ मंसिर २०८२ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App