दसैं सकिएलगत्तै पश्चिम नेपालका तराईदेखि पहाडसम्म विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेका मेला तथा पर्व सुरु हुन्छन्। तिहार सकिएसम्म कतै देवीदेवताका मन्दिरमा पूजाआजा र जात्रा लाग्छन् त कतै परम्परागत भैलो, नाचगान र सांस्कृतिक उत्सव मनाइन्छन्।
सुर्खेत, दैलेख, सल्यान, रुकुम, जाजरकोट र कालिकोटलगायत जिल्लामा शदीयौंदेखि चल्दै आएका यस्ता मेला तथा पर्वले यस क्षेत्रको मौलिक पहिचानलाई जीवन्त राखेको पाइएको छ। प्रत्येक मेला र पर्वको आफ्नै विशेषता, धार्मिक आस्था र सामाजिक महत्त्व छ। कतिपय मेला देवीदेवताप्रतिको श्रद्धासँग जोडिएका छन् भने कतिपय पुर्खाले सुरु गरेको परम्पराको निरन्तरता बनेका छन्।
यस्ता पर्वले स्थानीय समुदायको इतिहास, विश्वास, रहनसहन र जीवनशैलीलाई समेत प्रतिबिम्बित गर्छन्। आजजस्तो सञ्चार र यातायातको सहज पहुँच नभएको समयमा मेला तथा जात्रा गाउँबस्तीलाई जोड्ने महत्त्वपूर्ण माध्यम थिए।
टाढाटाढा रहेका आफन्त र इष्टमित्रसँग भेटघाट गर्ने, युवायुवतीले गीत गाउने, नाचगान गर्ने र आपसी सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा यस्ता पर्वलाई लिइन्थ्यो। कतिपय मेलामा युवायुवतीबिच चिनजान गर्ने र वैवाहिक सम्बन्धको सुरुवात हुने अवसरसमेत मिल्थ्यो।
मेला मनोरञ्जन र भेटघाटमा मात्रै सीमित थिएनन्, स्थानीय उत्पादनको किनबेच तथा वस्तु साटासाट गर्ने माध्यमसमेत थिए। एउटा गाउँमा उत्पादित वस्तु अर्को गाउँसम्म पु¥याउने र आवश्यक सामग्री साटेर उपयोग गर्ने चलनले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँथ्यो।
यसरी मेला तथा पर्वले धार्मिक आस्था, सामाजिक सम्बन्ध, सांस्कृतिक निरन्तरता र स्थानीय व्यापारलाई एकै ठाउँमा जोड्दै आएका छन्। समयसँगै सञ्चार, यातायात र बजारको विकासले मानिसको जीवनशैलीमा परिवर्तन ल्याएको छ। तर, पश्चिम नेपालका विभिन्न ठाउँमा अझै पनि परम्परागत मेला तथा पर्वको आकर्षण कायमै छ। यद्यपि, कतिपय मौलिक परम्परा हराउँदै जाने जोखिम पनि बढेको छ।
विगतका वर्षभन्दा पछिल्ला वर्षहरूमा यस्ता मेला पर्वको महत्त्व घट्दै गएको छ। त्यसैले यस्ता मेला तथा पर्वको ऐतिहासिक पृष्ठभूमि, मौलिक विशेषता र सामाजिक महत्त्वको खोजी गर्दै अभिलेखीकरण तथा संरक्षण गर्न आवश्यक देखिन्छ।
सात्तलाको भैलो: दसैंभन्दा ठूलो पर्व, संस्कृति जोगाउने चुनौती
दसैं सकिएसँगै देशका अधिकांश ठाउँमा चाडपर्वको रौनक विस्तारै कम हुँदै जान्छ, तर पश्चिम दैलेखको आठबिस नगरपालिका– १ सात्तलामा भने कोजाग्रत पूर्णिमाको रातले छुट्टै उमंग र उत्साह लिएर आउँछ। गाउँमा भैलोको रौनक छाउँछ। वर्षौंदेखि छुट्टिएका आफन्त भेटिन्छन्। सहर पसेका युवायुवती गाउँ फर्किन्छन्। विवाह गरेर पराई घर गएका चेलीहरू माइती पुग्छन्। गाउँको निश्चित स्थानमा भेला भएर भैलो खेल्ने र हेर्नेहरूको भीड लाग्छ।
यो सात्तलाको भैलोको विशेषता हो, जसले यस क्षेत्रको मौलिक संस्कृति, परम्परा र सामाजिक सम्बन्धलाई पुस्तौंदेखि जोड्दै आएको छ। पश्चिम नेपालका विभिन्न ठाउँमा भैलो खेल्ने आआफ्नै परम्परा र विशेषता छन्। धेरै ठाउँमा तिहारका बेला घरघरमा पुगेर भैलो खेल्ने चलन छ, तर दैलेखको सात्तलामा भने दसैंको अन्तिम दिन मानिने कोजाग्रत पूर्णिमाको राति भैलो खेलिन्छ। निश्चित स्थानमा भेला भएर मनाइने यो पर्व अन्य ठाउँको भैलोभन्दा फरक छ। ‘सात्तलाको भैलो’ नामले परिचित यो पर्व कर्णाली र सुदूरपश्चिम क्षेत्रमा चर्चित सांस्कृतिक मेलाका रूपमा स्थापित छ। यहाँका स्थानीयका लागि यो सामान्य मनोरञ्जनको पर्व मात्रै होइन, वर्षौंदेखि चल्दै आएको ऐतिहासिक परम्परा र सामाजिक जीवनको अभिन्न हिस्सा हो।
सात्तलाका स्थानीयका लागि दसैं, तिहारजस्ता चाडपर्वको आफ्नै महत्त्व छ, तर भैलो मेलाको रौनक र आकर्षण भने अझ विशेष छ। भैलो खेल्ने दिनलाई यहाँका बासिन्दाले ठूलो पर्वका रूपमा लिने गरेका छन्। भैलोसम्बन्धी जानकार सात्तलाका वीरबहादुर माक्र्सवादीका अनुसार सात्तलाको भैलो परापूर्वकालदेखि नै मनाइँदै आएको हो। अन्य ठाउँमा तिहारका बेला भैलो खेल्ने चलन भए पनि सात्तलामा दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको राति भैलो खेल्ने गरिन्छ।
यो पर्वले स्थानीयको धार्मिक तथा सांस्कृतिक आस्थालाई मात्रै प्रतिनिधित्व गर्दैन, उनीहरूबिचको आत्मीयता र सामूहिक एकताको भावनालाई पनि जीवन्त बनाउँछ। रोजगारी, अध्ययन र विभिन्न अवसरको खोजीमा गाउँ छाडेर सहर तथा प्रदेश पुगेका युवायुवती सात्तलाको भैलोका बेला गाउँ फर्किन्छन्।
विवाह गरेर अन्यत्र गएका चेलीहरू पनि माइती पुग्छन्। वर्षभरि काम र जिम्मेवारीका कारण टाढिएका परिवारका सदस्य, आफन्त र साथीभाइबिच भेटघाट हुने अवसरसमेत यही पर्वले जुटाउँछ। गाउँमा चहलपहल बढ्छ। पुराना सम्झना ताजा हुन्छन्। नयाँ पुस्ताले अग्रजसँग संस्कृति र परम्पराका कुरा सुन्न पाउँछन्। यस अर्थमा सात्तलाको भैलो एउटा सांस्कृतिक पर्व मात्रै होइन, गाउँसँग टाढिएको पुस्तालाई आफ्नो माटो, परिवार र परम्परासँग जोड्ने माध्यम पनि हो।
आठ जिल्लाका मानिसको आकर्षण
सात्तलाको भैलो हेर्न र खेल्न दैलेखमा मात्रै सीमित छैन। कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका मानिस यहाँ पुग्ने गर्छन्। दैलेखसँगै अछाम, कालिकोट, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया र कैलालीबाट समेत हजारौँ मानिस भैलो हेर्न तथा खेल्न सात्तला पुग्ने गरेका छन्। यसले भैलोको लोकप्रियता र यस क्षेत्रको सांस्कृतिक सम्बन्धलाई झल्काउँछ।
स्थानीयस्तरमा पुस्तौंदेखि निरन्तरता पाउँदै आएको यो परम्परा अहिले क्षेत्रीय पहिचानका रूपमा स्थापित भएको छ। सात्तलाको भैलोले विभिन्न जिल्ला र समुदायका मानिसलाई एउटै सांस्कृतिक उत्सवमा जोड्ने काम गरेको आठबिस नगरपालिकाका अगुवा अर्जुन शाही बताउँछन्।
पुस्तौंदेखि चलिआएको जनविश्वास र परम्पराका आधारमा यसको निरन्तरता कायम छ, तर समयसँगै मौलिक संस्कार र संस्कृति लोप हुँदै जानु चिन्ताको विषय बनेको छ। नयाँ पुस्ताको बदलिँदो जीवनशैली, रोजगारीका लागि गाउँ छाड्ने क्रम र पुराना परम्पराको अभिलेखीकरण नहुनुले यस्ता सांस्कृतिक सम्पदाको संरक्षणमा चुनौती थपिन सक्ने जानकारहरू बताउँछन्।
कोजाग्रत पूर्णिमामा कुमाख मेलामा घुइँचो
कोजाग्रत पूर्णिमाका अवसरमा सल्यानको कुमाख लेकमा लागेको मेलामा दर्शनार्थी तथा अवलोकनकर्ताको घुइँचो लागेको छ। धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण कुमाख लेकमा दसैंपछिको चतुर्दशी र कोजाग्रत पूर्णिमामा विशेष पूजाआजा र मेला लाग्ने गर्छ। समुद्री सतहदेखि २ हजार ५ सय ३५ मिटर उचाइमा रहेको कुमाख लेक सल्यानको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलका रूपमा परिचित छ।
सिद्ध कुमाख र कुमाख गाउँपालिकाको बिचमा पर्ने लेकमा सिद्धबाबाको मन्दिर छ भने मन्दिरको काखैमा सिद्धगुफा रहेको छ। यहाँ पूजाआजा गर्न र मेला भर्न टाढाटाढाबाट श्रद्धालु आउने गर्छन्। कुमाख मेला धार्मिक पूजाआजामा मात्रै सीमित छैन, यो वर्ष दिनपछि आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने, स्थानीय उत्पादनको किनमेल गर्ने र वस्तु साटासाट गर्ने महत्त्वपूर्ण थलोसमेत बनेको छ।
सल्यानका अगुवा तथा व्यवसायी भरत बस्नेतले मेलाले स्थानीयबिच भेटघाट र सामाजिक सम्बन्ध बलियो बनाउनुका साथै स्थानीय उत्पादनको व्यापार र धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन महत्त्वपूर्ण भूमिका खेलेको बताए।
डिग्रे मेला ः आस्था, किंवदन्ती र लठ्ठी नाचको संगम
रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ५ थर्पुमा रहेको डिग्रे साइँकुमारी मन्दिर धार्मिक आस्था र सांस्कृतिक परम्पराको विशिष्ट केन्द्र हो। यहाँ हरेक वर्ष हरिबोधिनी एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमासम्म पाँच दिन डिग्रे मेला लाग्ने गर्छ। धार्मिक पूजाआजा, स्थानीय किंवदन्ती र परम्परागत लठ्ठी नाच मेलाका प्रमुख आकर्षण हुन्।
डिग्रे मेलाको मुख्य दिन कात्तिक शुक्ल पूर्णिमामा मन्दिरमा विशेष पूजापाठ गरिन्छ। यस दिन मुसीकोट नगरपालिका– ७ साँख गाउँबाट आउने सगालहरूको लठ्ठी नाचले मेलालाई थप आकर्षक बनाउँछ। मन्दिर व्यवस्थापन समितिका अनुसार सगालहरूले मन्दिरको परिक्रमा गरेपछि बाजागाजासहित मन्दिरपरिसरको चौरमा लठ्ठी नाच प्रस्तुत गर्छन्।
प्रकाशित: २० कार्तिक २०८३ १२:०६ शुक्रबार



