धर्म/संस्कृति

चुनावले खोस्यो होलीको रौनक: एतिहासिक ‘बैरिया मेला’ पहिलो पटक स्थगित

फाइल तस्बिर- रासस।

रौतहटमा मंगलबार सम्पन्न होली पर्वमा यसपटक खासै उत्साह देखिएन। अन्य वर्षहरूमा होलीको एक साता अघिदेखि नै उद्योग वाणिज्य संघ, सहकारी, क्लब र राजनीतिक दलहरूले ‘होली मिलन समारोह’ आयोजना गरेर रौनक बढाउने गरे पनि यस वर्षको होली सुनसानजस्तै बन्यो।

आसन्न प्रतिनिधिसभा निर्वाचनको चटारोले तराई-मधेसको महान् पर्वको उल्लासलाई छायामा पारिदियो।

चुनावकै कारण यहाँको ऐतिहासिक ‘समनपुर फागु बैरिया मेला’ यसपटक स्थगित भयो। करिब सवा दुई सय वर्षदेखि निरन्तर चल्दै आएको यो मेला इतिहासमै पहिलो पटक रोकिएको हो।

मेला नलाग्दा सर्लाही र रौतहटका दर्जनौँ गाउँका सर्वसाधारण निराश बने। उनीहरूले वर्षौंदेखि यही मेलाबाट होलीका लागि आवश्यक रंग, अबिर, कपडा र खाद्य सामग्री खरिद गर्दै आएका थिए।

फागु बैरिया मेला समितिका संयोजक जवार मियाका अनुसार होलीको मुख्य दिन नै निर्वाचनको ‘मौन अवधि’ परेको र आचारसंहितामा कडाइ गरिएकाले मेला स्थगित गर्नुपरेको हो।

‘सार्वजनिक कार्यक्रम गर्न सकिने अवस्था रहेन,’ मियाले भने, ‘चुनावी गतिविधिले सर्वसाधारणको ध्यान पनि पर्वभन्दा बढी राजनीतितर्फ मोडिएको पाइयो।’

मेला स्थगित हुँदा हजारौं व्यापारीको कारोबार प्रभावित भएको छ भने मेलामा आश्रित स्थानीय मजदुर, साना व्यवसायी तथा सर्वसाधारण मारमा परेका छन्। विशेषगरी होलीका रंग, पिचकारी, कपडा, भाँडाकुँडा तथा खाद्य सामग्री एकै ठाउँमा किन्ने अवसरबाट यो वर्ष सर्वसाधारण वञ्चित भएका हुन्।

समनपुरका स्थानीय कामेश्वर सहनीले चुनावको आचारसंहिता र कडाइले होलीको रौनक कमजोर बनाएको बताए। ‘होलीको रौनक देखिनुपर्नेमा आचारसंहिताको कडाइ र चुनावी माहोलले चाडपर्वको उत्साह मारेको देखियो,’ उनले सुनाए।

तराई–मधेसमा होलीलाई सद्भाव र भाइचाराको पर्वका रूपमा विशेष महत्वका साथ मनाइन्छ। यहाँ आफन्त र छरछिमेक मिलेर विभिन्न परिकार खाने चलन छ। तर, यसपटकको चुनावी सरगर्मीले सामाजिक र सांस्कृतिक गतिविधिलाई खुम्च्याइदिएको स्थानीयको बुझाइ छ।

प्रकाशित: २० फाल्गुन २०८२ १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App