महाशिवरात्रिको अवसरमा तौलिहवास्थित प्राचीन तौलेश्वरनाथ महादेवसहित जिल्लाका शिव मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ।
नेपालकै ठुलो शिवलिङ दाबी गरिएको मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनहरूको ठुलो भीड लागेका छ। छिमेकी जिल्ला, रुपन्देही, अर्घाखाची, भारत तथा जिल्लाका विभिन्न स्थानबाट आएका भक्तजनहरूले मन्दिरमा पूजापाठ गरेका छन्।
शनिबार रातिदेखि नै मन्दिरमा भक्तजनहरूको भीड लागेको छ। मन्दिरमा आएका साधु, सन्त, भक्तजनहरूको पूजापाठ, सहज दर्शका लागि मन्दिर व्यवस्थापन समितिले विशेष व्यवस्था गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार गुप्ताले बताए। मन्दिरको चारवटैद्वार खोलिएको छ। मन्दिरमा महिला र पुरुषका लागि छुट्टै लाइनको व्यवस्था गरिएको छ। पुरुषलाई पूर्वीद्वार र महिलालाई पश्चिमीद्वारबाट मन्दिरमा प्रवेश गराइएको छ।
मन्दिरदेखि मुख्य बाटो हुँदै बहादुरगंज जाने चोकसम्म लामो लाइन लागेको छ। सहजढंगबाट दर्शन तथा सुरक्षित पूजापाठका लागि मन्दिर परिसरमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ। भगवान गौतमबुद्धको जन्म भएपछि राजधानी तिलौराकोट फर्किँदा उनका पिता राजा शुद्धोधनले यही मन्दिरमा दर्शन गराएको किंवदन्ती छ।
मन्दिरमा साउन र फागुन गरी दुई महिनामा मेला लाग्ने गर्दछ। १८७२ सालमा स्थापित तौलेश्वरनाथ महादेव मन्दिर तराईवासी हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र समेत बनेको छ। भक्तजनहरूको सुरक्षालाइ मध्यनजर गरी मन्दिर परिसरमा सिसी क्यामेराले समेत निगरानी सिंगारिएको छ। आवास तथा भोजन, स्वयंसेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त व्यवस्थापन गरी पूजाआजाको उचित व्यवस्था पनि गरिएको समितिले जनएको छ।
यस्तै शिवराज नगरपालिका–९ शिवगढीस्थित शिव मन्दिरमा समेत भीड लागेको छ।
प्रकाशित: ३ फाल्गुन २०८२ १७:१० आइतबार