पर्वको अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइएसँगै छठ पर्व समापन भएको छ। तराईसहित काठमाडौंका विभिन्न स्थानहरूमा विगतमा जस्तै यस वर्ष पनि भव्यताका साथ छठ पर्व मनाइएको छ। लोक आस्थाको पर्व छठमा प्रकृति, जल र सूर्यको उपासना गरी व्रतालुहरूले नदी, तलाउ तथा पोखरीका घाटहरूमा भेला भई सोमबार साँझ अस्ताउँदो सूर्य र मंगलबार बिहान उदाउँदो सूर्यलाई विधिवत् रूपमा अर्घ दिएर मनाएका हुन्।
छठ पर्वमा मुख्यतया सूर्य देव जसलाई जीवन, ऊर्जा र समृद्धिको स्रोतको रूपमा हेरिन्छ भने छठी मैयाँले सन्तान, कल्याण र परिवारको रक्षा गर्ने देवीको रूपमा पूजा गरिन्छ। यस पर्वलाई कठिन व्रत र शुद्धताको प्रतीक समेत मानिन्छ।
गौरीघाट व्यवस्थापन समितिका सहयोगी अमितकुमार दासका अनुसार रामायणकालमा राम र सीताले समेत यो पूजा र व्रत गरेको कारण यसको परम्परा चलिआएको बताउँछन्। उनी भन्छन्, ‘सूर्यको शक्ति र सौन्दर्य तराईवासीको लागि पर्व मात्रै नभएर भावना पनि हो। हरेक वर्ष गौरी घाटमा व्रतालुहरूको संख्या बढ्न थालेको देख्दा खुसी लाग्छ। देशका सबै समुदाय र धर्मले छठ माईलाई अँगालेको देख्दा गौरव गरेका छौँ।’
यस व्रतले सन्तान प्राप्ति, धन प्राप्ति र मनोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ। विगत १० वर्षदेखि छठ पूजा गर्दै आएकी रजनी राजवंशी भन्छिन्, ‘तीन दिनसम्म निराहार रूपमा व्रत बस्दा परिवारको सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ, वैवाहिक जीवन पनि सफल मानिन्छ र अविवाहितहरूले समेत सफल वैवाहिक जीवनको अपेक्षा राख्दा सफलता मिल्छ।’
पहिले तराई क्षेत्रमा मात्र सीमित रहेको छठ पर्व पछिल्लो समयमा पहाडी क्षेत्रका नागरिकले समेत उत्तिकै उत्साहका साथ मनाउन थालेका छन्। सुदूरपश्चिमबाट छठ पूजा गर्न गौरीघाट आएका चन्द्रबहादुरले छठ पर्व अब राष्ट्रिय पर्व भएको बताए। उनी भन्छन्, ‘अहिले छठ पर्व धेरै ठाउँमा मनाउन थालिएको छ। पूर्व, पश्चिमको भूगोल एकै हो। आस्था ठुलो कुरा हो। छठी मैयाँ सबैको हो।’
छठ पर्वले सामाजिक आयाम र यसलाई मिथिलाञ्चलको सामाजिक एकता, संस्कार र सभ्यताको प्रतीक तथा समावेशी पर्वका रूपमा स्थापित गरेको भए पनि सबै नेपालीको पर्व रहेको चन्द्रबहादुरले बताए।
विगत २१ वर्षदेखि छठ पूजा गर्दै आएकी सारदादेवी परियारले सूर्यलाई जीवन, ऊर्जा, स्वास्थ्य र समृद्धिको रूपमा आस्था गरिने बताउँदै अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ चढाउँदा परिवारको सुख, समृद्धि, निरोगिता र सन्तानको कल्याण हुने विश्वास व्यक्त गरिन्।
धार्मिक मान्यता अनुसार छठीमाईलाई प्रकृतिको छैटौँ अंशबाट जन्मिएको मानिन्छ भने ज्योतिष शास्त्रअनुसार कार्तिक महिनामा सूर्य आफ्नो नीच राशिमा हुने भएकाले यस समयमा सूर्यको विशेष उपासना गरिन्छ। मंगलबार बिहान व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको विधिवत् रूपमा समापन गरेका छन्।
प्रकाशित: ११ कार्तिक २०८२ ०९:१८ मंगलबार