साझा पर्वका रूपमा रहेको छठको चौथो तथा अन्तिम दिन सोमबार बिहान कपिलवस्तुमा व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएर विधिवत् रूपमा समापन गरेका छन्।
कपिलवस्तु नगरपालिका-१ स्थित जमुहरा नाला र रामाट नदी, पकडी, कृष्णनगर, बहादुरगन्जलगायतका तालतलैयामा उनीहरूले बिहान उदाउँदो सूर्यको विशेष पूजापाठ र आराधना गरेका थिए। पर्वको चौथो दिन आज व्रत लिनेहरू पुनः पोखरी, जलाशय किनारमा पुगी सोमबार साँझ गरेको क्रम दोहोर्याई प्रातःकालीन सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका हुन्।
हिन्दू धर्म संस्कृतिअनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइने गरिएको छ। छठ पर्वका अवसरमा आइतबार जिल्लाका अधिकांश पोखरी, तलाउ, खोला, नदीको पानीमा पसेर व्रतालुहरूले अस्ताउँदो सूर्यको आराधना गरी अर्घ्य दिएका थिए। यस क्रममा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर अन्य अर्घ्य सामग्री पालैपालो गरी सूर्यलाई अर्पण गर्ने गरिन्छ। आइतबार गरेकै विधि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई समापन गरिएको छ। विशेष पूजाको अवसरमा उनीहरूले सूर्य र छठी माताको आराधना समेत गरेका थिए।
छठमा उपवास बसी पूजाआजा गर्नाले पारिवारिक सुख, समृद्धिका साथै सन्तान प्राप्ति र रोगव्याधिसमेत निको हुने श्रद्धालु भक्तजनहरूको विश्वास छ। छठका अवसरमा चढाइएका ठेकुवालगायतका प्रसादसमेत वितरण गर्ने गरिन्छ। तराईका हिन्दू धर्मावलम्बीहरूबीच अत्यन्त लोकप्रिय रहेको छठ पर्वलाई धार्मिक आस्था र सामाजिक सद्भावको प्रतीकका रूपमा मानिएको छ। पूर्वी तराईमा मात्र मनाइने छठ पर्व पछिल्लो समय अवध, भोजपुरा, पहाडमा समेत विस्तार हुँदै गएको छ।
जनजाति, दलित, मधेसी, पहाडी समुदाय मिलेर छठ पर्व मनाइएको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए। जमुहरा र रामघाट नदीमा ५ हजार बढीले छठमा सामूहिक पूजा गरेको पूजा व्यवस्थापन समितिले जनाएको छ। कपिलवस्तुमा ७९ स्थानमा छठको विधिवत् पूजाआजा गरिएको थियो।
प्रकाशित: ३० कार्तिक २०८३ ०८:१३ सोमबार



