भक्तपुरको विस्का जात्राको क्रममा सोमबार साँंझ ५५ हात लामो ल्योसिंद्य (लिंगो) उभ्याइँदैछ । यो आठ रात नौ दिन लामो भक्तपुरको विस्का जात्राको प्रमुख आकर्षण हो ।
प्रत्येक वर्षजस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका–५ ल्योसिंखेलमा लिङ्गो उभ्याइने छ । जात्राको क्रममा ५५ हात लामो लिङ्गोलाई सयौं युवाहरुले डोरीको सहायताले तानेर उभ्याइने गरिन्छ ।
प्रत्येक वर्ष चैतको अन्तिम दिन साँंझ यहाँ लिङ्गो उभ्याउने गरिन्छ । उभ्याइएको लिङ्गोलाई वैशाख १ गते ढाल्ने गरिन्छ । चैतको मसान्तमा उभ्याइने र बैशाख १ गते ढाल्ने भएकाले लिङ्गो एक वर्ष उभेको बुझाइ छ । यही नै जात्राका मुख्य आकर्षण हुन् ।
ल्योसिंद्यलाई साँंझदेखि नै उभ्याउन सुरु गरिन्छ। ठूलो भएका कारण घण्टौंको प्रयासपछि राति मात्रै उभ्याउन सकिन्छ । कुनै वर्ष त उभ्याउनै नसकेर भोलिपल्ट मात्रै उभ्याई भोलिपल्टै ढाल्ने पनि गरिएको थियो । ल्योसिंद्य उभ्याउन सुरु गर्नु अघि दिउँसै परम्परा अनुसार ल्योसिंद्यमा डोरी बाध्ने गरिन्छ ।
जात्राको क्रममा जात्रा हेर्न जात्रास्थलमा हजारौ जात्राप्रेमीहरु सहभागी भएका हुन्छन् । भक्तपुरसहित मध्यपुर थिमि, बनेपा, काठमाडौं, ललितपुरलगायतका विभिन्न जिल्लाहरुबाट यो जात्रा हेर्न हजारौ उपस्थित रहेका हुन्छन् ।
ठूलो ल्योसिंद्य अनि हजारौको भीड हुने भएकाले जात्राका क्रममा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरी जात्रास्थल नजिकै दर्जन एम्वुलेन्सहरु पनि तयारी अवस्थामा राखिने गुठी संस्थान शाखा कार्यालय भक्तपुरले जनाएको छ।
गुठी संस्थानले जात्राका लागि आवश्यक सम्पूर्ण तयारीहरु पूरा भएको जनाएको छ । गुठीले बनाएको कार्यतालिका अनुसार विहान ८ बजेदेखि नै जात्राका कामहरु सुरु हुनेछन् । विहान आठ बजेभित्र भद्रकालीको पूजा सम्पन्न गर्ने कार्यतालिका छ । त्यसपछि क्रमशः विभिन्न पूजाआजा तथा विधिवाधन हुँंदै साँझ तीन बजे लिंगोमा डोरी राख्ने र पाँंचबजेबाट लिंगो उभ्याउन सुरु गर्ने योजना छ ।
जात्रा चैत २७ गते शुक्रबारदेखि सुरु भएको थियो । भक्तपुरको न्यातापोल मन्दिर नजिकै राखेर बनाइएको भैरवनाथको रथ भैलखलाई तानेर जात्रा सुरु भएको छ । प्रत्येक वर्ष नयाँं वर्ष सुरु हुनुभन्दा चार दिन अगाडि र पछाडि गरी कुल आठ रात नौ दिन जात्रा चल्ने गर्दछ । जात्राको पहिलो दिन भक्तपुर नगरपालिका वडा नं ५ न्यातापोल पाँंचतलल्ले मन्दिर अगाडि काठैकाठबाट प्यागोडा शैलिमा बनाइएको तीनतल्ले करिव ३५ फिट अग्लो भैरवनाथको रथलाई तानेर लगिएको छ । अन्तिम दिन वैशाख ५ गते पनि यही रथलाई नगरको पश्चिम क्वनेमा लाने गरिन्छ । यो सँगै लामो जात्रा समापन हुनेछ ।
प्रकाशित: २९ चैत्र २०८२ १८:५९ आइतबार