धर्म/संस्कृति

भैरवनाथको रथ तानिएसँगै सकियो विस्का जात्रा

भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक विस्का जात्रा शनिबार विधिवत् रूपमा समापन भएको छ।

नयाँ वर्षको आगमनसँगै मनाइने आठ रात नौ दिन लामो यो जात्रा शनिबार साँझ भैरवनाथ र भद्रकालीको रथ तानिएसँगै सम्पन्न भएको हो।

जात्राको अन्तिम दिन शनिबार बिहान भक्तपुर नगरपालिका–४ तालाक्वस्थित पोटरी स्क्वायरमा उभ्याइएको ‘हात नभएको लिङ्गो’ ढालिएको थियो। त्यसलगत्तै भैरव र भैरवीको पूजा सम्पन्न गरी दिउँसो भैरवनाथको रथमा डोरी बाँधेर नगरको माथिल्लो टोलतर्फ तान्ने क्रम सुरु भएको थियो। यसलाई स्थानीय भाषामा ‘द्यो थाहा विज्याइगू’ अर्थात् देवता माथि सवारी हुने भनिन्छ।

गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख आनन्द कर्माचार्यका अनुसार प्रत्येक वर्ष नयाँ वर्ष सुरु हुनु चार दिन अगाडि (चैत २७) सुरु हुने यो जात्रा वैशाख ५ गतेसम्म सञ्चालन हुन्छ।

‘तालाक्वमा चैत मसान्तमा उठाइएको लिङ्गो ढालेर अपराह्नबाट पूजा सम्पन्न गरी रथ तान्न सुरु भएसँगै जात्राको विसर्जन हुने परम्परा छ,’ उनले भने।

शनिबारै मध्यपुर थिमि नगरपालिकाको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि चैत ३० गते उठाइएको लिङ्गो पनि ढालिएको छ।

बोडेमा लिङ्गो उठाएपछि थिमिका सम्पूर्ण जात्राहरू सुरु हुने परम्परा रहेको छ। यसअघि भेलुखेलस्थित ल्यासिंखेलमा चैत मसान्तमा उठाइएको मुख्य लिङ्गो वैशाख १ गते ढालिएको थियो।

यस वर्षको विस्का जात्रा चैत २७ गते न्यातापोल अगाडिबाट भैरवनाथको रथ तानेर सुरु गरिएको थियो। ५५ हात लामो लिङ्गो उभ्याउनु र ढाल्नु, वैशाख २ गते बोडेमा हुने प्रसिद्ध जिब्रो छेड्ने जात्रा र रथ तान्ने प्रतिस्पर्धा यस जात्राका मुख्य आकर्षण हुन्।

गहिटीमा रहेको भैरवनाथको रथलाई शनिबार राति अवेरसम्म नगर परिक्रमा गराएसँगै यस वर्षको सांस्कृतिक उत्सव सकिएको छ।

प्रकाशित: ५ वैशाख २०८३ २०:३० शनिबार