धर्म/संस्कृति

काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास

पहाडको शान्त बस्ती, वरिपरि हरियाली जङ्गल। तल ऐतिहासिक गाउँसहर दरबार र माथि पुरानोकोट गढी। यही ऐतिहासिक परिवेशमा रहेको काउलेपानी प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्था र स्थानीय संस्कृतिका कारण परिचित छ। यहाँ आउने पर्यटकलाई घरबास (होमस्ट) को आत्मीय सत्कारसँगै पानीको बीचमा देवी उत्पत्ति भएको विश्वासले पनि आकर्षित गर्ने गरेको छ।

बेँसीसहर नगरपालिका–३ मा रहेको जलदेवी मन्दिरलाई स्थानीय काउलेपानी देवी मन्दिर पनि भन्ने गर्छन्। स्थानीय किंवदन्ती अनुसार पानीको बीचमा देवीको मूर्ति भेटिएपछि त्यहीँबाट पूजा गर्ने चलन सुरु भएको हो। पानीमा लाग्ने लेउलाई स्थानीय रूपमा ‘काउले’ भनिने भएकाले देवीको नाम काउलेपानी रहन गएको र पछि सोही नामबाट गाउँको नामसमेत काउलेपानी रहन गएको स्थानीय बताउँछन्।

काउलेपानी पर्यटन विकास समिति तथा घरबास व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङका अनुसार यस क्षेत्रसँग सिद्धिबाबा तथा योगीको पुरानो तपस्याको किंवदन्ती जोडिएको छ।

उनका अनुसार १५औँ शताब्दीतिर यस क्षेत्रमा सिद्धिबाबा तथा योगी बस्ने र तपस्या गर्ने गर्थे। “सिद्धिबाबाले सपनामा पानीको बीचमा देवीको मूर्ति देखेका थिए। त्यसपछि त्यहाँ गएर हेर्दा पानीको बीचमा देवीको मूर्ति भेटिएको किंवदन्ती छ। त्यहीँबाट देवी स्थापना गरी पूजा गर्ने चलन सुरु भएको र अहिलेसम्म कायम रहँदै आएको विश्वास छ”, गुरुङले भने।

पानीको बीचमै पूजा गर्न कठिन भएपछि देवीको मूर्ति केही बाहिर ल्याएर पूजा गर्न थालिएको स्थानीय किंवदन्ती छ। त्यसयता सोही स्थानमा मन्दिर स्थापना गरी पूजा तथा दर्शन गर्ने परम्परा कायम रहेको स्थानीय बताउँछन्। पानीको बीचमा देवी उत्पत्ति भएको विश्वास भएकाले उनलाई ‘जलदेवी’ भनिएको हो।

काउलेपानीमा सिद्धिबाबा तथा योगी बसेका र तपस्या गरेका विश्वाससँग जोडिएका स्थल छन्। स्थानीय रूपमा जोगीडाँडा भनिने स्थानमा सिद्धिबाबाले तपस्या गरेको चौतारा तथा ढुङ्गामा उनको पाइलाको छाप रहेको बताइन्छ। स्थानीयवासीले यी स्थललाई पुरानो धार्मिक परम्पराको स्मृतिसँग जोडेर हेर्ने गरेका छन्।

जलदेवीप्रति स्थानीयको धार्मिक आस्था रहेको देवबहादुर गुरुङ बताउँछन्। मन्दिरमा पूजा तथा भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। धार्मिक आस्थाका साथ काठमाडौँ, पोखरा, चितवन लगायत विभिन्न ठाउँबाट भक्तजन दर्शन तथा पूजाका लागि आउने गरेका छन्।

काउलेपानीको जलस्रोतसँग धार्मिक विश्वाससँगै ऐतिहासिक सम्बन्ध समेत जोडिएको स्थानीय बताउँछन्। स्थानीय बुढापाकाकाअनुसार तत्कालीन राजाले यहाँको पानी ढुङ्गाबाट बनाइएको भूमिगत संरचना तथा सुरुङमार्फत दरबारसम्म पुर्‍याएर प्रयोग गर्ने गरेका थिए।

काउलेपानीको पानी दक्षिणतर्फ मूल फुटेर उत्तरतर्फ बग्ने भएकाले स्थानीयले यसलाई ‘उत्तरगङ्गा’समेत भन्ने गर्छन्। कात्तिक, ठूला एकादशी र माघमा यहाँ स्नान गरे पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको गुरुङले बताए।

स्थानीय जानकार कविन्द्र गुरुङका अनुसार काउलेपानीमा परम्परादेखि गुरुङ पुजारीले पूजा गर्दै आएका छन्। कात्तिक र चैते दसैँमा गाउँले सामूहिक रूपमा पूजा गर्ने तथा अन्य समयमा व्यक्तिगत रूपमा पूजा तथा दर्शन गर्ने परम्परा रहेको उनले बताए। “पहिलेदेखि नै गुरुङ पुजारीले पूजा गर्दै आएका छन्। कात्तिक र चैते दसैँमा गाउँले मिलेर पूजा गर्छन्। यहाँको धार्मिक आस्था जीवित छ”, कविन्द्र गुरुङले भने। समय क्रममा मन्दिर जीर्ण भएपछि पुनःनिर्माण गरिएको हो।

गुरुङका अनुसार विसं २०७७/७८ मा सङ्घीय सरकारको करिब रु २७ लाख बजेटमा मन्दिरको नयाँ संरचना निर्माण गरिएको हो। धार्मिक महत्त्वसँगै काउलेपानी ग्रामीण पर्यटनको गन्तव्यका रूपमा पनि विकास भइरहेको छ। गाउँमा हाल १३ घरबास सञ्चालनमा छन्।

गुरुङ र नेवार समुदायका घरमा सञ्चालित घरबासमा करिब ९० जनासम्म पाहुना राख्न सकिने क्षमता रहेको स्थानीयले बताएका छन्। घरबासमा आउने पाहुनाले स्थानीय खानपान, संस्कृति र रहनसहनको अनुभव लिनुका साथै गाउँसहर दरबार, पुरानोकोट गढी लगायत ऐतिहासिक तथा धार्मिकस्थलको अवलोकन गर्ने गरेका छन्।

प्राकृतिक सौन्दर्य, घरबास, ऐतिहासिकस्थल र पानीको बीचमा देवी उत्पत्ति भएको स्थानीय विश्वासले काउलेपानीको छुट्टै धार्मिक तथा सांस्कृतिक पहिचान बनाएको छ। पुस्तौँदेखि चल्दै आएको जलदेवीको पूजा परम्परा स्थानीयको आस्था र संस्कृतिसँग जोडिएर निरन्तर छ।

प्रकाशित: ९ आश्विन २०८३ ०८:२९ शुक्रबार