रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा ६ वर्षीय बालकको ढुङ्गा प्रहार गरी हत्या भएको छ। बालकको हत्या अभियोगमा प्रहरीले स्थानीय एक पुरुषलाई पक्राउ गरेको छ।
बाँफिकोट गाउँपालिका-२ स्वारा बस्ने बल बहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको हत्या गरेको अभियोगमा सोही ठाउँका ३३ वर्षीय भक्त बहादुर नाथलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार शुक्रबार साँझ भक्त बहादुरले ढुङ्गा प्रहार गर्दा बालक रमेश गम्भीर घाइते भएका थिए। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पिपलबाट खटिएको टोलीले आरोपितलाई नियन्त्रणमा लिएको थियो।
ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिम पुर्याइएकोमा उपचारकै क्रममा शुक्रबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
प्रकाशित: ७ कार्तिक २०८३ २०:०२ शनिबार