धर्म/संस्कृति

दश वर्षपछि स्थानीयको श्रमदानले खुल्यो नीलबाराही पूजा मार्ग

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ स्थित प्रसिद्ध नीलबाराही मन्दिर जाने पहिरोले अवरुद्ध पूजा मार्ग १० वर्षपछि स्थानीय बासिन्दाको श्रमदानबाट खुलेको छ।

महिनौंको निरन्तर प्रयासपछि ‘श्री नीलबाराही क्षेत्र बचाऔं अभियान’ मार्फत स्थानीयहरूले बाटो खुलाउन सफल भएका हुन्।

विगत एक दशकदेखि पहिरोका कारण बन्द रहेको उक्त मार्ग खुलाउन स्थानीयहरूले भीरमा बोरामा माटो भरेर जग बसाउँदै बाटो निर्माण गरेका थिए।

यद्यपि, बाटो खुले पनि पहिरो नियन्त्रण र मिचिएको जग्गा फिर्ता गराउने जस्ता महत्वपूर्ण कामहरू अझै बाँकी रहेको समितिका सहसचिव निशुल प्रजापतिले जानकारी दिए।

No description available.

काठमाडौँ उपत्यकाका चार प्रमुख बाराहीमध्ये एक मानिने नीलबाराही क्षेत्र करिब ५०० रोपनी क्षेत्रफलमा फैलिएको छ। लामो समयदेखि पहिरोको उच्च जोखिममा रहेको यो ऐतिहासिक मन्दिर र बाटोलाई यसअघि प्लास्टिकले छोपेर जोगाउने प्रयास मात्र हुँदै आएको थियो।

केही महिनाअघि मध्यपुर थिमि नगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले पहिरो नियन्त्रणका लागि करिब ९ करोड ४३ लाख रुपैयाँको बजेटमा तत्काल काम थाल्ने घोषणा गरेका थिए।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठले पत्रकार सम्मेलन नै गरी दुई वर्षभित्र २० करोड लगानीमा नीलबाराही क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्य बनाइने र त्यसको थ्रीडी नक्सा समेत सार्वजनिक गरेका थिए।

तर, स्थानीयका अनुसार उक्त घोषणाअनुसार हालसम्म फिल्डमा कुनै काम सुरु भएको छैन।

प्रकाशित: १ कार्तिक २०८२ १८:१९ शनिबार