धर्म/संस्कृति

एक महिने गुँलापर्व आजदेखि सुरु

बौद्ध धर्मावलम्बीको एक महिने गुँला पर्व आजदेखि सुरु भएको छ। विशेषगरी बौद्ध धर्मावलम्बीहरूले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गर्दछ। आजदेखि आगामी भदौ ८ गतेसम्म यस पर्व मनाइने गरिन्छ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो, यसअर्थमा नेपाल संवत्को नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको संस्कृतिकर्मी बताउँछन्।

यस पर्वको अवसरमा मुख्यगरी नौ बाजा बजाउने परम्परा छ। गुँला पर्व विशेषगरी बौद्धमार्गीहरुको पर्व भए तापनि गुँला पर्वमा अन्य धर्मावलम्बीहरु समेत सहभागी हुने गर्छन्। पर्वको अवसरमा नगरका बहाः, बही, चैत्यलगायत विभिन्न मठमन्दिरको परिक्रमा गर्ने प्रचलन  छ।

गुँला पर्वमा बौद्धमार्गीहरू दैनिक महाचैत्यको परिक्रमा गर्नुका साथै उपत्यकाका विभिन्न चैत्यहरुको परिक्रमा गर्ने गर्दछन्। यस पर्वको प्रमुख विशेषता न्याकुँ बाजा बजाउनु हो। यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ। पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलन वृद्धि भएको छ। जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन, भैरव र अष्टमाट्रिकालगायतका देवीदेवताको समेत परिक्रमा गर्ने प्रचलन छ। रासस

प्रकाशित: ९ श्रावण २०८२ ०८:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App