कपिलवस्तुमा दीपावली तिहारमा प्रदर्शन गरिएको दुई सय ८७ लक्ष्मीको मूर्ति विसर्जन गरिएको छ। यस्तै शान्ति सुरक्षामा अत्यन्त संवेदनशील मानिएको कपिलवस्तुको कृष्णगनरमा समेत सुरक्षा घेरामा लक्ष्मीको मूर्ति विसर्जन गरिएको छ।
दीपावलीमा निकालिएको लक्ष्मीको मूर्ति ड्रोन, सिसी क्यामेरा सहित व्यापक सुरक्षाकर्मी परिचालन गरी कृष्णगनर क्षेत्रमा विसर्जन गरिएको हो। २ वटा ड्रोन, अत्याधुनिक सिसी टिभी, क्यामेरा र साढे पाँच सय बढी सुरक्षाकर्मीको घेरामा मूर्ति विसर्जन गरिएको हो। जिल्ला प्रहरी अनुसार यस वर्ष तिहारमा कपिलवस्तुका १० पालिकामा २ सय ८७ लक्ष्मीको मूर्ति निकालिएको थियो। मूर्ति विसर्जनका क्रममा ठूलो संख्यामा स्थानीयवासी नाच गान सहित सहभागी भएका थिए। निकालिएको मूर्तिलाई गाडीमा राखेर लगिएको थियो। मूर्तिलाई कृष्णनगर बजारको परिक्रमा समेत गराइएको थियो।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै साना सीमानाकाहरू दिनभरि बन्द निगरानी र हाई प्वाइन्ट सुरक्षा परिचालन गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर लौडारीले बताए। कृष्णनगर क्षेत्रमा ८४ वटा मूर्ति विसर्जन गरिएको थियो। कृष्णनगरमा मूर्ति बिसर्जनक्रममा विगत वर्षहरूमा साम्प्रदायिक घटना भएको थियो। २०७६ सालमा त्यहाँ मूर्ति विसर्जनका बेला एक जनाको मृत्यु हुनको साथै धेरै घाइते भएका थिए।
यस वर्ष फेरी सम्भावित घटनालाई रोक्न कृष्णगनर बजार क्षेत्र देखि मूर्ति सेलाउने स्थान कृष्णनगर नगरपालिका वडा नम्बर १ बढइया पोखरीसम्म ठूलो मात्रामा प्रहरी परिचालन गरिएको थियो। शुक्रवार दिउँसो देखि राति सम्म सुरक्षाकर्मीहरू कृष्णनगर बजारमा तैनाथ थिए। शुक्रवार बिहानै प्रजिअ दिलकुमार तामाङ, प्रहरी उपरीक्षक सन्तोष आचार्य, सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसी सहितको टोली समेत कृष्णगनर पुगेका थिए।
कृष्णगनर क्षेत्रमा मूर्ति बिसर्जनक्रममा नेपाल र सशस्त्र प्रहरी गरी साढे पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ तामाङले बताए। यस वर्ष पनि त्यहाँ हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी तिहारभरि त्यहाँ ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए। कृष्णनगरमा हुन सक्ने सम्भावित दंगालाई रोक्न मूर्ति विसर्जन दिउँसो नै गरी सकिनु स्थानीय स्तरमै नियम बनाइएको थियो। शान्ति सद्भाव कायम गर्न कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहको संयोजकत्वमा समिति समेत निर्माण गरिएको थियो।
मूर्ति विसर्जनलाई मध्यनजर गर्दै भारतीय समकक्षी सुरक्षाकर्मीसँग समेत समन्वय गरिएको थियो। प्रजिअ तामाङले मूर्ति बिसर्जनक्रममा हुन सक्ने सम्भावित झडप र घटनालाई रोक्न जिल्लाभर शान्ति सुरक्षालाई मजबुत पारिएको बताए। मूर्ति बिसर्जनक्रममा कहीँ कतै अप्रिय घटना नभएको उनले बताए। कृष्णगनरका मेयर रजत प्रताप शाह मूर्ति विसर्जनमा आफैं सहभागी भएका थिए। उनले सबैको प्रयासले यस वर्ष कृष्णगनरमा शान्तिपूर्वक मूर्ति विसर्जन भएको बताए। कृष्णनगरमा विगत ६ वर्ष यता दसैँ र तिहारमा निकालिएको मूर्ति सुरक्षा घेराभित्रै मूर्ति विसर्जन गरिएको छ। तिहारमा कपिलवस्तुमा निकालिएको लक्ष्मीको मूर्ति कार्तिक ५ देखि कार्तिक ७ सम्म विसर्जन गरिएको हो।
प्रकाशित: ७ कार्तिक २०८२ २१:४१ शुक्रबार