धर्म/संस्कृति

संस्कृति संरक्षणका लागि घोडा दौड

वीरगञ्जको कला र संस्कृति जोगाउन महानगरपालिका–१६ नगवामा शनिबार घोडा दौड प्रतियोगिता आयोजना गरियो। नेपाल र भारतबीचको पुरानो परम्परालाई निरन्तरता दिन यो प्रतियोगिता गरिएको हो।

प्रतियोगितामा भारतको विहारका मोतिहारी, पश्चिम चम्पारण र नेपालका १६ घोडसवारले भाग लिए। ब्रहम बाबा सञ्चालक सेवा समिति र बिपी कोइराला युवा नेतृत्व मञ्चले आयोजना गरेको दौडमा समितिका अध्यक्ष प्रभु चौरसियाले नेपाल–भारतबीचको सद्भाव कायम गर्न प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेलेको बताए।

दौड हेर्न ठूलो सङ्ख्यामा दर्शकको भीड लागेको थियो। ‘दर्शकको उत्साहले आगामी वर्ष पनि यस्ता प्रतियोगिता गर्न प्रेरणा मिलेको छ,’ चौरसियाले भने। प्रतियोगितामा भारतको मोतिहारीका विचारी यादवको घोडा पहिलो भयो र उनलाई कुलर मेसिन प्रदान गरियो। दोस्रो स्थान मोतिहारीकै कोट्वाका मेनेजर ज्यादवको घोडाले र तेस्रो स्थान पर्साको सिर्सियाका हरिशङ्कर सिंहको घोडाले जित्यो।

कार्यक्रमको उद्‌घाटन गर्दै मधेस प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री जर्नादनसिंह क्षेत्रीले लोप हुँदै गएको घोडा दौडले नेपाल–भारतबीच मैत्रीपूर्ण सम्बन्ध बलियो बनाउन सहयोग गरेको बताए। मन्त्री क्षेत्री, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमलगायतले विजेतालाई पुरस्कार वितरण गरे। रासस

प्रकाशित: २१ वैशाख २०८२ ०७:१६ आइतबार