कर्पोरेट

सर्वोत्तम र जगदम्बा सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एघार लाख बढी सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सर्वोत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टद्वारा संयुक्त रूपमा एक करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ (रु. १,११,११,१११) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको छ।

कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, संचालक टिकाराम न्यौपाने, पूर्व–संचालक बिमलकुमार सावर्थिया, पूर्व–संचालक तेन्जिन लाक्देन, प्रमुख संचालक अधिकृत नवीन प्रकाश अधिकारी तथा कम्पनी सचिव कमलकुमार भारतीले उक्त सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रदान गरिएको हो।

भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। यस राष्ट्रिय विपद्को कठिन समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले संयुक्त रूपमा उक्त सहयोग गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध हुने यस रकमले बाढी प्रभावित परिवारहरूको तत्कालीन राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा योगदान पुर्‍याउने विश्वास कम्पनीले लिएको छ।

सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो प्राथमिकताको महत्वपूर्ण हिस्सा मान्दै आएका छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा समुदाय केन्द्रित विभिन्न सामाजिक कार्यमा योगदान गर्दै आएका यी दुवै कम्पनीले आगामी दिनमा पनि देश र समुदायलाई आवश्यक परेको समयमा हरेक सम्भव सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

भोटेकोशी बाढीमा परी असामयिक निधन भएको सम्पूर्ण दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित सम्पूर्ण नागरिकप्रति सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्ट हार्दिक सहानुभूति व्यक्त गरेको छ। साथै, विपद्को यस कठिन समयमा प्रभावित परिवार तथा समुदायको शीघ्र राहत, उद्धार र पुनःस्थापनाको काम सफल होस् भन्ने कामना उनीहरूले गरेका छन्।

प्रकाशित: २३ भाद्र २०८३ ११:१४ मंगलबार