कर्पोरेट

सामसुङ इन्नोभेसन क्याम्पसको कोडिङ कोर्स सम्पन्न, एआई कार्यक्रमका लागि आवेदन खुला

सामसुङ नेपालले सामसुङ इन्नोभेसन क्याम्पस (एसआईसी) अन्तर्गत सञ्चालन गरेको कोडिङ तथा प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ ।

कम्पनीले उक्त कार्यक्रममा सहभागी भई सफलतापूर्वक कोर्स पूरा गरेका विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै नेपालमा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रमका लागि आवेदन खुला गरेको घोषणा गरेको हो ।

२२ डिसेम्बर २०२५ देखि ३० जून २०२६ सम्म सञ्चालन भएको कोडिङ तथा प्रोग्रामिङ कोर्समार्फत विद्यार्थीहरूलाई प्राविधिक सीप, व्यावहारिक परियोजना अनुभव र उद्योगसँगको प्रत्यक्ष एक्सपोजर प्रदान गरिएको सामसुङले जनाएको छ । कोर्स पूरा गरेका विद्यार्थीहरूलाई आयोजित विशेष समारोहमा सम्मान गरिएको थियो ।

सामसुङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले नेपालको युवा पुस्तामा उच्च सम्भावना रहेको उल्लेख गर्दै सामसुङ इन्नोभेसन क्याम्पसले उनीहरूलाई डिजिटल युगका लागि आवश्यक सीप, आत्मविश्वास र नवीन सोच विकास गर्न सहयोग गरिरहेको बताए । आर्टिफिसियल इन्टेलिजेन्सले विश्वभरका उद्योगमा परिवर्तन ल्याइरहेका बेला डिजिटल प्रतिभा विकास अझ महत्वपूर्ण बनेको उनको भनाइ थियो ।

सामसुङको विश्वव्यापी सामाजिक उत्तरदायित्व (सीएसआर) अभियान ‘टुगेदर फर टुमोरो ! इनएबलिङ पिपुल’ अन्तर्गत सन् २०२३ देखि नेपालमा सञ्चालनमा आएको सामसुङ इन्नोभेसन क्याम्पसले उदीयमान प्रविधिसम्बन्धी उद्योग–सान्दर्भिक सीपसँगै सञ्चार, सहकार्य र आलोचनात्मक सोचजस्ता कार्यस्थलमा आवश्यक क्षमताको विकासमा जोड दिँदै आएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ एआई कार्यक्रम व्यावहारिक सिकाइ र वास्तविक समस्या समाधानमा केन्द्रित हुनेछ । यसमार्फत सहभागीहरूले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी क्षमता विकास गर्दै नेपालको डिजिटल रूपान्तरण र नवप्रवर्तनमा योगदान पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ ।

सामसुङ नेपालले तालिमपछि पनि ग्र्याजुएटहरूलाई कर्मचारी तथा उद्योग विशेषज्ञमार्फत मेन्टरसिप, नवप्रवर्तन परियोजना र करिअर मार्गदर्शन उपलब्ध गराउने जनाएको छ । साथै, सहभागीहरूबीच दीर्घकालीन सम्बन्ध, निरन्तर सिकाइ र अनुभव आदान–प्रदानलाई प्रवर्द्धन गर्न ‘सामसुङ इन्नोभेसन क्याम्पस अल्मुनाई नेटवर्क’ स्थापना गर्ने योजना पनि सार्वजनिक गरेको छ ।

नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स इकोसिस्टमको विकास, रोजगारीका अवसर विस्तार तथा डिजिटल रूपान्तरणलाई गति दिन शिक्षण संस्था, उद्योग र सरकारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको सामसुङको विश्वास छ ।

प्रकाशित: ८ श्रावण २०८३ १८:२४ शुक्रबार