कर्पोरेट

सिटिजन्स बैंकद्वारा ‘अनक्याप्टर्ड पोटेन्सियल, युनिफाइड एक्सन : बजेट अलाइनमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु’ कार्यक्रम सम्पन्न

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरूबीच ‘अनक्याप्टर्ड पोटेन्सियल, युनिफाइड एक्सन : बजेट अलाइनमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु–सुदूरपश्चिम प्रोभिन्स (२०८२/८३)’ कार्यक्रम आयोजना गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायत अन्य वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षका लागि बजेट, रणनीतिक कार्ययोजना एवं प्राथमिकताका विषयमा छलफल गरिएको थियो। साथै, केन्द्र र प्रदेशबीचको सहकार्य सुदृढ गर्ने विषयमा सहभागीहरूबीच अन्तरक्रिया भएको थियो।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सिटिजन्स बैंकका १० वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन्। यसअघि बैंकले बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्ट : स्ट्राटेजिक ग्रोथ इम्पेरटिभ्स फर बागमती प्रदेश’, कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम : बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ तथा मधेश प्रदेशमा ‘ड्राइभिङ हाई–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट एन्ड मार्केट लिडरसिप २०८२/८३’ कार्यक्रम सम्पन्न गरिसकेको छ।

त्यसैको निरन्तरतास्वरूप सुदूरपश्चिम प्रदेशमा पनि उक्त सेमिनार आयोजना गरिएको बैंकले जनाएको छ। आगामी दिनमा अन्य प्रदेशमा समेत यस्ता कार्यक्रम आयोजना गरिने बताइएको छ।

बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ७७ अर्ब ३३ करोड पुगेको छ। निक्षेप संकलनमा समेत ०.२२ प्रतिशतको वृद्धि भई रु. २ खर्ब ३३ अर्ब ८१ करोड पुगेको बैंकले जनाएको छ। बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर रु. २ अर्ब ९ करोड ८६ लाख पुगेको छ।

विश्वस्तरमा प्रतिष्ठित ‘अवार्ड फर द इयर २०२४ र २०२५’ प्राप्त गर्न सफल बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको थियो।

हालै बैंकले नवयुवालाई लक्षित ‘बचत खाता’ अन्तर्गत ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’ तथा ‘सिटिजन्स डिजिटल बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। साथै, प्रोफेसनलहरूलाई लक्षित गरी विशेष ‘प्रोफेसनल सेभिङ्स अकाउन्ट’ नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ।

नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन तथा सी–आर–एन नम्बर सेवा लिन सकिने सुविधासहित क्यूआरमार्फत बैंक टेलरमा नगद प्राप्त गर्न सकिने सुविधा पनि बैंकले सञ्चालनमा ल्याएको जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: १ आश्विन २०८३ १५:२७ बिहीबार