कर्पोरेट

बाढी प्रभावितका लागि बुटवल पावर कम्पनी समूहको ५१ लाखभन्दा बढी सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी), आबद्ध ग्रुप कम्पनीहरू र कर्मचारीहरूले ५१ लाख ४१ हजार ९ सय ८६ रुपैयाँ सहयोग गरेका छन्।

कम्पनी समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो। भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार तथा राहत अभियानमा ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको कम्पनीले जनाएको छ।

उक्त सहयोग रकमको चेक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरिएको हो।

कुल सहयोगमध्ये बुटवल पावर कम्पनी र त्यसका कर्मचारीबाट मात्रै ३३ लाख ३६ हजार ९ सय ८६ रुपैयाँ जुटाइएको छ। यसमा कम्पनीको २२ लाख तथा व्यवस्थापन र कर्मचारीहरूको ११ लाख ३६ हजार ९ सय ८६ रुपैयाँ योगदान रहेको छ।

त्यस्तै, समूहअन्तर्गतका विभिन्न कम्पनीले पनि राहत कोषमा सहयोग गरेका छन्। न्यादी हाइड्रोपावर लिमिटेडले ५ लाख ५० हजार, हिमाल पावर लिमिटेडले ५ लाख, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले ५ लाख ५ हजार र खुदी हाइड्रोपावर लिमिटेडले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

कम्पनीले विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, बाढीपछि बेपत्ता रहेका नागरिकहरू शीघ्र सुरक्षित रूपमा सम्पर्कमा आउने विश्वाससमेत व्यक्त गरेको छ।

कम्पनीले विपद्को यस कठिन समयमा उद्धार, राहत तथा प्रभावित नागरिकको सहयोगका लागि निजी क्षेत्रबाट मानवीय सहकार्य आवश्यक रहेको जनाएको छ।

प्रकाशित: १६ भाद्र २०८३ १८:४३ मंगलबार