अपराध

शंखमुलको होस्टेलमा चक्कु प्रहार गरी युवकको हत्या, सञ्चालकसहित तीन पक्राउ

शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले होस्टेल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित होस्टेलको कोठा नम्बर १०९ मा बस्दै आएका २२ वर्षीय वसन्त कालाथोकीमाथि शुक्रबार बिहान करिब १०:१० बजे चक्कु प्रहार भएको थियो।

होस्टेल बाहिर प्यासेजमा गम्भीर घाइते अवस्थामा फेला परेका उनलाई तत्काल मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएकोमा उपचारका क्रममा सोही दिन दिउँसो १२ बजे मृत्यु भएको थियो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही होस्टेलमा बस्ने बाराको कलैया उपमहानगरपालिका-३ का १९ वर्षीय शेखर यादवलाई तत्कालै नियन्त्रणमा लिएको थियो।

घटनापछि फरार रहेका बाराकै १९ वर्षीय प्रमित पटेललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा भैँसेबाट र होस्टेल सञ्चालक महोत्तरीको लोहरपट्टी नगरपालिका-६ का २३ वर्षीय आलोक ठाकुरलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध ज्यान सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले जानकारी दिए।

प्रकाशित: ७ भाद्र २०८३ १९:०६ आइतबार