अपराध

युएनडिपीको कर्मचारी भन्दै ठगी गर्ने युवक लमजुङबाट पक्राउ

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ।

शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग दिलाउने प्रलोभनमा विभिन्न व्यक्ति तथा संस्थाबाट रकम असुल्ने चितवनको खैरहनी नगरपालिका–१३ घर भएका २५ वर्षीय सुजन सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार सिलवालले विगत केही दिनदेखि आफूलाई युएनडिपीको कर्मचारी भनी परिचय दिँदै आएका थिए।

उनी जिल्लाका विभिन्न वडा कार्यालय, कृषि फार्म तथा विद्यालयहरूमा पुगेर भौतिक पूर्वाधार विकास तथा अनुदान सहयोग उपलब्ध गराउने प्रलोभन देखाउने गर्दथे।

सोही बहानामा उनले निवेदन शुल्क, प्रतिलिपि सेवा शुल्क तथा दस्तुर भन्दै रकम असुली ठगी गर्दै हिँडेको गोप्य सूचनाको आधारमा प्रहरीले निगरानी बढाएको थियो।

प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पुस १८ गते साँझ लमजुङको दोर्दी गाउँपालिका–४ बाट सिलवाललाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो।

प्रहरीले निजको साथबाट संयुक्त राष्ट्रसंघ नेपाललाई सम्बोधन गरी लेखिएका निवेदन पत्रहरू, विभिन्न व्यक्तिका फर्म दर्ता प्रमाणपत्र, प्यान दर्ता प्रमाणपत्र, नागरिकताका प्रतिलिपिहरू र ठगी गरी संकलन गरिएको नगद रकम बरामद गरेको छ।

प्रारम्भिक अनुसन्धानबाट खुले अनुसार सिलवालले युएनडिपीमा जागिर लगाइदिने भन्दै एकजना सहयोगी राखेको र सोही भ्रममा पारी भाडाको सवारी साधन र चालकसमेत लिएर हिँड्ने गरेका थिए।

पक्राउ परेका सिलवालमाथि ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनलाई जिल्ला अदालत लमजुङबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङले यस प्रकरणमा वा यस्तै प्रकृतिको ठगीमा परेका अन्य व्यक्ति वा संस्थाहरू भए आवश्यक प्रमाणसहित तत्काल प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ।

प्रकाशित: २० पुस २०८२ १८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App