नेपाल प्रहरीको साइबर ब्यूरोले नाबालिकालाई सामाजिक सञ्जालमा ललाईफकाई नग्न भिडियो कल गर्न लगाएर त्यसको रेकर्ड गरी चरित्र हत्या गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ।
सिरहा कल्याणपुर नगरपालिका–११ का २२ वर्षीय जीवन कुमार साहलाई प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको हो।
ब्यूरोका अनुसार साहले पीडित नाबालिकासँग फेसबुकमा साथी बनेर कुराकानी अघि बढाएका थिए।
त्यसपछि म्यासेन्जरमा विभिन्न प्रलोभन देखाएर भिडियो कलमा नग्न हुन लगाई संवेदनशील अंगहरूको स्क्रिनसट तथा स्क्रिन रेकर्ड गरेका थिए।
सोही अश्लील फोटो तथा भिडियो प्रयोग गरी साहले नक्कली फेसबुक अकाउन्ट बनाएर सामग्रीहरू अपलोड गरी नाबालिकालाई अनावश्यक दुःख हैरानी दिँदै चरित्र हत्या गरेको ब्यूरोले जनाएको छ।
पीडितको उजुरीका आधारमा अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्दा घटनामा साहको संलग्नता खुलेपछि ब्यूरोले इलाका प्रहरी कार्यालय मिर्चेयाको सहयोगमा उनलाई कात्तिक १७ गते सिरहाबाटै पक्राउ गरेको हो।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक राज अवस्थीका अनुसार पक्राउ परेका साहलाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।
प्रकाशित: १८ कार्तिक २०८२ १८:३८ मंगलबार



