अपराध

सुर्खेतमा श्रीमानले पेट्रोल छर्केर आगो लगाउँदा महिला गम्भीर घाइते

सुर्खेतको भेरीगंगा नगरपालिका–१३ रामघाटमा श्रीमानले पेट्रोल छर्केर आगो लगाउँदा ५० वर्षीया महेश्वरी राना गम्भीर घाइते भएकी छन्।

मंगलबार साँझ करिब ५ बजे उनका श्रीमान् ४९ वर्षीय जयबहादुर रानाले शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। घटनालगत्तै छोरी पुष्पा रानाले आगो निभाएर उनलाई उपचारका लागि सुर्खेत ल्याएकी थिइन्। उनको अनुहार, घाँटी तथा शरीरका विभिन्न भागमा करिब ३५–३६ प्रतिशत जलेको छ।

सुर्खेतमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएकी महेश्वरीलाई राति भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले जयबहादुर रानालाई नियन्त्रणमा लिए पनि उनीसमेत प्रदेश अस्पताल कालागाउँमा भर्ना भई उपचाररत छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ श्रावण २०८३ ०९:२५ बुधबार