अपराध

विमानस्थलबाट किन पक्राउ परे तीन भारतीयसहित आठ विदेशी नागरिक ?

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम थाइ गाँजासहित आठ विदेशी नागरिकलाई पक्राउ गरेको छ।

ब्यूरोका सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार ३९ दशमलव २८ किलोग्राम थाइ गाँजासहित पाँच म्यानमारका र तीन भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा थाइल्यान्डको बैंककबाट थाई एयरवेजको उडानमार्फत आएका पाँच म्यानमारका नागरिक रहेका छन्। त्यसैगरी, थाइल्यान्डकै फुकेटबाट बाटिक एयरवेजको उडानबाट नेपाल आएका तीन भारतीय नागरिक पनि पक्राउ परेका हुन्।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूसँग गाँजाका साथै आठ थान राहदानी र आठ थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका सबैमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको सहप्रवक्ता निरौलाले बताएका छन्।

प्रकाशित: ३ भाद्र २०८३ ०७:३७ बुधबार