अपराध

चरेस ओसारपसारमा महिला भरियाको प्रयोग

लागुऔषध चरेस ओसारपसार र ढुवानीमा महिलाहरूलाई नै भरियाको रूपमा प्रयोग गर्ने गरिएको छ।

चरेस कारोबारीहरूले प्रलोभनमा पारी भारततर्फ चरेस ढुवानीका लागि महिलाहरूलाई भरियाका रूपमा प्रयाग गर्ने गरेको पाइएको हो।

गत साउन ७ गते कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ बसपार्कमा १० किलो र चरेस ५ किलो २ सय २५ ग्राम चरेससहित ५ महिला पक्राउ परे। कम्मरमा बाँधेर लुकाएर भारततर्फ लग्ने तयारी गरिएको अवस्थामा राप्ती गाउँपालिका ३ की ३४ वर्षिया रमिता रोका, कपिलवस्तु बिजयनगर गाउँपालिका–४ ज्योतिनगरकी ४५ वर्षिया फनिसरा सारू, ५६ वर्षिया नन्सरी घर्ती मगर, जिल्ला दाङ राप्ति गा.पा. वडा नं. ०३ मसुरिया बस्ने ४३ वर्षिया विमला पुन र पर्सा ठोरी गाउँपालिका वडा नं.२ टाउन प्लान घर भई हाल जिल्ला कपिलवस्तु बिजयनगर गा.पा. वडा नं.४ ज्योतिनगर बस्ने ४८ वर्षिया चुमा लामिछाने पक्राउ परेका थिए।

२०८३ वैशाख ८ गते कृष्णनगर बसपार्कमै १४ किलो ४२७ ग्राम चरेस सहित २ महिला र एक पुरुष पक्राउ परेका थिए। दिल कुमारी घर्ती, मनिषा घर्ती र नकुल घर्ती चरेससहित पक्राउ परेका थिए।

२०८०/०८१ मा ३४ किलो १७० ग्राम चरेस बरामद हुँदा ५ जना महिला पक्राउ परेका थिए। आर्थिक वर्ष २०७९÷०८० मा ४० किलो ९९६ ग्राम चरेस बरामद हुँदा ६ जना महिला पक्राउ परेका थिए।

यस्तै, गत आर्थिक वर्ष २०८०/०८१ मा ३४ किलो १७० ग्राम चरेस बरामद हुँदा ५ जना महिला पक्राउ परेका थिए। सो वर्ष चरेस ढुवानीमा पुरुष भने २ जना मात्र पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ओसारपसार गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चरेसका कोरोबारीहरुले बिकट पहाडी जिल्लाका विपन्न महिलाहरूलाई आर्थिक प्रलोभनमा पारी ढुवानीमा प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानले खुलेको छ।

आर्थिक स्थित कमजोर भएका रुकुम, रोल्पा सल्यान, दाङ लगायतका पहाडी जिल्लाहरूमा रहेका महिलाहरूलाई प्रलोभनमा पारी चरेस ढुवानीमा प्रयोग गर्दै आएको हुन्। चरेस ढुवानीमा महिलाहरूको प्रयोग बढ्दै गएको प्रहरी नायब रिपेन्द्र कुमार सिंहले बताए।

‘चरेस ढुवानीमा महिलाहरूको प्रयोग बढेको छ’ उनले भने। कपिलवस्तुको कृष्णनगर र त्यसको पश्चिमी नाकाहरू लागु औषध चरेस निकासीको ट्रान्जिट प्वाइन्ट बनेको पाइएको छ।

पहाडी जिल्लाहरू रुकुम रोल्पा लगायतका जिल्लाहरूमा उत्पादन हुने चरेस जिल्लाका त्यही नाका हुँदै भारत तर्फ लुकाई छिपाई लैजाने गरिएको छ। विशेष गरी महिला र विपन्न परिवारलाई ढुवानीका लागि भरियाको रूपमा कारोबारीहरूले प्रयागे गर्ने गरेका छन्।

कारोबारीहरूले भरियाकै प्रयोग गरी भारतको लखनउ लगायतका विभिन्न स्थानमा पुर्‍याउने गरिएको छ। वर्षौँदेखि चरेसको यसरी अवैध ओसारपसार हुँदै आएको छ।

चरेसको निकासी बढेको सुराकी पाए पछि प्रहरीले चरेस निकासीको जालो तोड्न अभियान सञ्चालन गरेको जनाएको छ। ‘हामीले पनि चरेस निकासी हुने रुट पत्ता लगाउँदै अभियान चलाएका हौ,’प्रहरी उपरीक्षक मनोहर कुमार भट्टले बताए।

कारोबारीहरूले पहाडी जिल्लामा उत्पादन भएका चरेस महिलाको प्रयोग गरी कम्मर झोला, लगायतका सामानसँगै लुकाएर लग्ने गरेको बताए। लुकाई छिपाई भरिया मार्फत सीमा नाका कटाउने गरिन्छ। घटनामा भरियाहरु मात्र पक्राउ पर्ने गरेका छन्। कारोबारीहरू  भने प्रहरीको फन्दामा कम मात्र पर्ने गर्छन्।

‘हामीले चरेससहित लागु औषध नियन्त्रणमा विशेष कदम चालेका छौ, तर ढुवानीमा भरियाका रुपमा महिला र विपन्न परिवार मात्र प्रयागे गर्ने गरेको पाएका छौ’, उनले भने।

गत आर्थिक वर्ष लागुऔषध सम्बन्धी ५९ मुद्दामा ९२ पुरुष र ७ महिला पक्राउ परेका थिए। गत आर्थिक वर्ष गाँजा ४१ किलो २६५ ग्राम, चरेस १४ किलो ४२७ ग्राम, ब्राउन सुगर २२७ ग्राम ९८५ मिलिग्राम, नाइट्राभेट ६३ टयाब्लेट, ट्रमाजोल १४९ ट्याब्लेट, स्पास्मो ६ सय ७ क्याप्सुल बरामद भएको थियो।

प्रकाशित: ९ भाद्र २०८३ १४:०६ मंगलबार