अपराध

ट्राफिक प्रहरीबारे टिकटकमा भ्रामक भिडियो पोस्ट गर्ने दुई युवक पक्राउ

ट्राफिक प्रहरीबारे सामाजिक सञ्जाल टिकटकमा भ्रामक भिडियो बनाएर पोस्ट गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने २४ वर्षीय सजन श्रेष्ठ र भारतको सितामढी घर भई हाल सिनामंगल बस्ने १९ वर्षीय अफ्ताव अन्सारी रहेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत असोज ३० गते बागमती प्रदेश ०२–०५१ प ६३५४ नम्बरको मोटरसाइकलमा मोडिफाइड ह्यान्डल राखेर लापरबाहीपूर्वक चलाएको अवस्थामा चालक श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।

कार्यालय परिसरमा ह्यान्डल परिवर्तन गर्ने क्रममा श्रेष्ठले अन्सारीको सहयोगमा टिकटकका लागि भिडियो बनाएका थिए।

उक्त भिडियो ‘एसएस भ्लग’ नामक टिकटक ह्यान्डलमार्फत पोस्ट गरिएको थियो। सो भिडियोमा ट्राफिक प्रहरीको छविमा नकारात्मक असर पार्ने सामग्री रहेको प्रहरीले जनाएको छ।

सोही भिडियोका आधारमा अनुसन्धान गर्दा प्रहरीले श्रेष्ठलाई कागेश्वरी मनोहराबाट र अन्सारीलाई सिनामंगलबाट दिउँसो पक्राउ गरेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार उनीहरूको साथबाट भिडियो बनाउन प्रयोग भएको एक थान सामसङ ग्यालेक्सी मोबाइल र एक थान गोप्रो क्यामेरा बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको एसपी सुवेदीले जानकारी दिए।

प्रकाशित: ४ कार्तिक २०८२ १५:०९ मंगलबार