‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट फरार भएका दुईजना कैदीबन्दीलाई सर्लाही र रौतहट प्रहरीले पक्राउ गरेको छ।
आन्दोलनका क्रममा रौतहटको सदरमुकाम गौरस्थित कारागार फुटाएर फरार भएका रौतहटको दुर्गाभगवती गाउँपालिका–५, वडहर्वाका २९ वर्षीय दिपेश साह सोनार (सेरु साह) लाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो।
जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका सोनार भदौ २४ गते राति आन्दोलनको मौका छोपी कारागार फुटाएर फरार भएका थिए। उनले सो मुद्दामा ३ वर्ष ९ महिना कैद सजाय भुक्तान गरिसकेका थिए। इलाका प्रहरी कार्यालय केशरगन्जको टोलीले ईश्वरपुर नगरपालिका–६, बयलबासबाट उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पुनः जिल्ला कारागार कार्यालय रौतहट पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले बताए।
यसैगरी, सोही आन्दोलनका क्रममा गौर कारागारबाट फरार भएका चोरी मुद्दाका दोषी गौर नगरपालिका–३ का २४ वर्षीय अफताब अन्सारीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत गौरले उनलाई ४ वर्ष ३ महिना कैद सजाय तोकेको थियो, जसमध्ये उनले ३ वर्ष १० महिना २७ दिन कैद भुक्तान गरिसकेका थिए।
आन्दोलनको मौका छोपी फरार भएका अन्सारीलाई विशेष सूचनाका आधारमा गौर–३ पोखरिया टोलबाट नियन्त्रणमा लिई गौर कारागार पठाइएको डिएसपी विष्णु प्रदीप बस्यालले बताए। आन्दोलनको मौकामा विभिन्न गम्भीर प्रकृतिका मुद्दामा दोषी ठहर भई जेलबाट अझै १२३ जना कैदीबन्दी फरार रहेका छन्।
प्रकाशित: १७ चैत्र २०८२ १०:१३ मंगलबार