कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटास्थित सुरेन्द्र सुनचाँदी पसलमा सुन चोरीको आरोपमा दुई पाकिस्तानी महिलाहरू पक्राउ परेका छन्।
मंगलबार साँझ साढे ५ बजेतिर सुन किन्ने बहानामा सो सुनपसलबाट बाहिर निस्कने क्रममा उनीहरू पक्राउ परेका हुन्। सुन किन्ने बहानामा विभिन्न गहना हेर्ने क्रममा उनीहरूले सुन चोरी गरेको सीसीटीभीको फुटेजमा देखिएको छ।
चोरीपछि पसलबाट बाहिर निस्किँदा उनीहरूले मास्कमाथि बुर्का लगाएर आफ्नो पहिचान लुकाउने प्रयास गरेका थिए। पसल सञ्चालकले गहना हराएको थाहा पाएपछि तत्काल बजार क्षेत्रमा खोजी गरेका थिए। केही पर पुगेपछि ती महिला फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि उनीहरूलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो।
ती महिलाले एकै दिन रूपन्देहीको योगीकुटी, कपिलवस्तुको तौलिहवा र चन्द्रौटामा गरी तीन स्थानमा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूले नगद देखाएर तथा गहना हेर्ने बहानामा सुन चोरी गर्ने शैली अपनाउने गरेको पाइएको छ।
पक्राउ परेकामध्ये कलसुम र सहबाना नामका महिलाको साथबाट पाकिस्तानको पासपोर्ट समेत बरामद भएको प्रहरीले जनाएको छ। योगीकुटी क्षेत्रको एक सुनचाँदी पसलमा समेत चोरी गरेको तथ्य फेला परेको छ।
हाल उनीहरूविरुद्ध चोरी तथा ठगी सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। पक्राउ परेका महिलाको गिरोह नै रहेको तथा उनीहरू सुनको चोरीमा संलग्न रहेको प्रहरीले बताएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: २ वैशाख २०८३ १२:१६ बुधबार



