अपराध

विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको अवैध विदेशी मुद्रासहित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई जना कर्मचारी पक्राउ परेका छन्।

विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थानतर्फको ‘ह्याण्ड ब्यागेज चेकिङ एरिया’ बाट आइतबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका-३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेका छन्।

नेपाल एयरलाइन्सको नियमित उडानमार्फत काठमाडौंबाट मलेसियाको क्वालालम्पुर जान लागेका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयको प्रहरी टोलीले जाँच गर्दा स्रोत नखुलेको विदेशी मुद्रा फेला पारेको थियो।

जाँचका क्रममा बज्राचार्यको साथबाट ४ हजार ३०० अमेरिकी डलर र १२ हजार ३७२ मलेसियन रिङ्गिट तथा पाण्डेको साथबाट ४ हजार २०० अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिङ्गिट बरामद भएको प्रहरीले जनाएको छ।

विदेशी मुद्रासहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीका लागि ललितपुरको पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको छ।

प्रकाशित: १ भाद्र २०८३ २०:२३ सोमबार