चाडपर्व लक्षित सुरक्षा कारबाहीका क्रममा चितवन प्रहरीले ६ लाख २३ हजार रुपैयाँभन्दा बढी मूल्यको प्रतिबन्धित पटाकासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीले उनीहरूको साथबाट १ लाख ७२ हजार ३०० रुपैयाँ नगद समेत बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा भारतको मोतिहारी जिल्ला घर भई हाल चितवनको कालिका नगरपालिका-६ हरिहरटोल बस्ने ४१ वर्षीय सन्जय साह तेली र मोतिहारीकै घर भई हाल भरतपुर महानगरपालिका-३ बाह्रघरे बस्ने २९ वर्षीय ‘राज जैशवाल’ भनिने कन्हैया कुमार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका कार्यालयहरूबाट खटिएको विशेष टोलीले उनीहरूको साथबाट झिरझिरे, खुर्सानी, चक्र र रकेटलगायत विभिन्न प्रकारका ८० हजार ३७२ पिस पटाकाजन्य विष्फोटक पदार्थ बरामद गरेको हो।
बरामद गरिएका यी विष्फोटक पदार्थको अनुमानित बजार मूल्य ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबर रहेको छ।
पक्राउ परेका दुवै जनामाथि कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रकाशित: १७ कार्तिक २०८३ १६:३५ मंगलबार