अपराध

जेनजी आन्दोलनका क्रममा जबरजस्ती करणी र दस्तखत कीर्ते मुद्दाका फरार दुई पक्राउ

सांकेतिक तस्बिर

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले जेनजी आन्दोलनका क्रममा जबरजस्ती करणी मुद्दा र सरकारी कागजछाप दस्तखत कीर्ते गरेर फरार रहेका दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरीका ३० वर्षीय नुमेश वाइबा र खोटाङ बराहपोखरीका ४१ वर्षीय नवराज लुइँटेल रहेका छन्। ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले वाइबालाई जबरजस्ती करणी र लुइँटेललाई सरकारी कागजछाप दस्तखत कीर्ते गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका वाइबा जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धारा र लुइँटेल जिल्ला अदालत काठमाडौंबाट फरार रहेका थिए। वाइबालाई स्वयम्भु र लुइँटेललाई वसुन्धराबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ। रासस 

प्रकाशित: २९ फाल्गुन २०८२ १२:०१ शुक्रबार