मोरङको सुन्दरहरैचा नगरपालिका–२ बेलडाँगीमा अवैध हतियार लुकाएर राखिएको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा एक घरबाट पेस्तोलसहित विभिन्न हतियार बरामद भएको छ।
सोमबार साँझ करिब ६ बजे खटिएको प्रहरी टोलीले २८ वर्षीय सिलास लिम्बुको घरमा खानतलासी गर्दा निज सुत्ने कोठाबाट पेस्तोल १ थान, ह्यान्डसेट २ थान तथा भरुवा बन्दुकजस्तै देखिने काठको हतियार १ थान फेला पारेको प्रहरीले जनाएको छ।
प्रारम्भिक सोधपुछका क्रममा सिलास लिम्बुले उक्त हतियारहरू सुन्दरहरैचा नगरपालिका–३ निवासी प्रेम बहादुर गुरुङबाट लिएको बताएका छन्। त्यसपछि प्रहरीले प्रेम बहादुर गुरुङको खोजतलास गरी फेला पारी उनलाई पनि नियन्त्रणमा लिएको छ।
दुवै जनालाई नियन्त्रणमा लिई अवैध हतियार सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: २७ माघ २०८२ ११:४० मंगलबार



