अपराध

चितवनमा १२४ केजी गाँजासहित दुईजना पक्राउ

चितवनमा लागुऔषध (गाँजा)सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १२४ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।  

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका-११ डुम्रेखाडी बस्ने ३३ वर्षीय वीरबहादुर तामाङ, ३१ वर्षीय हिरालाल तामाङ छन् । उनीहरुलाई विशेष सूचनाको आधारमा राप्ती नगरपालिका-११ डुम्रेखाडी स्थित भित्रि सडकमा इलाका प्रहरी कार्यालय भण्डाराबाट गएको टोलीले पक्राउ गरेको हो ।  

उनीहरुले मोटरसाईकलमा गाँजा बोकेर भण्डारा तर्फ ल्याउँदै गरेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए । प्रहरीले तीन वटा मोटरसाइकलसमेत बरामद गरेको छ । बाटोमा रेकी गर्ने व्यक्तिसहित केही मान्छे फरार भएको उनले बताए ।  

जिल्ला प्रहरी कार्यालय चितवनले लागू औषध नियन्त्रण गर्न मंसिरदेखि अपरेसन डेल्टा अभियान सञ्चालन गरेको छ । यो अवधिमा लागूऔषधका ५२ वटा मुद्दा दर्ता भएका छन् भने तीन महिलासहित ८१ जना पक्राउ परेका छन् । योसहित चितवन प्रहरीले १५५ किलो गाँजा, ९ ग्राम चरेस, २०२ ग्राम खैरो हिरोईन, ट्रामाडोल ५१२८ एम्पुल, १३१ एम्पुल फेनरागन र १३१ एम्पुल नुर्फिन बरामद गरेको छ ।

प्रकाशित: २१ पुस २०८२ १६:१२ सोमबार