सर्लाही सदरमुकाम मलङ्गवामा गोली प्रहारबाट सब इन्जिनियरको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पूर्वाधार विकास कार्यालयमा कार्यरत सिरहाको सुखीपुर नगरपालिका–६ वैशाखा घर भएका सब इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। यादवको हत्या प्रकरणमा संलग्न रहेको भन्दै महोत्तरीको रामगोपालपुर नगरपालिका निवासी गणेश महतो र विजय महत्तोलाई प्रहरीले पक्राउ गरेको सर्लाही प्रहरीले जनाएको छ। स्रोतका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो।
सब इन्जिनियर यादवको फागुन ४ गते हत्या भएको थियो।
मोटरसाइकलमा आएका व्यक्तिले सब इन्जिनियर यादवलाई कोठाबाहिर बोलाएर गोली प्रहार गरेका थिए। उनको देब्रे छातीमा गोली लागेको थियो। घटनास्थलबाट गोलीको एक खोका बरामद गरिएको थियो। हत्यामा सानो हतियार (पेस्तोल) प्रयोग भएको थियो।
यादवको हत्यामा पक्राउ परेका महतो यादवसँगैको लोकसेवाका वैकल्पिक उम्मेदवारसमेत रहेका थिए। साथै उनी सर्लाहीकै एक स्थानीय तहमा करार सेवामा कार्यरत रहेका थिए। स्रोतको अनुसार यादवको हत्यापछि आफ्नो नाम अघि बनाउने र सरकारी जागिरका लागि मुख्य दाबेरदार हुने लोभमा उनको हत्या गराइएको थियो।
प्रकाशित: १५ फाल्गुन २०८२ १२:०० शुक्रबार



