अपराध

बालबालिकालाई बाँधेर अमानवीय व्यवहार गर्ने दुई जना पक्राउ

मोरङको उर्लाबारीमा मोबाइल चोरी गरेको आरोपमा दुई जना बालबालिकालाई मन्दिरको फलामे पिलरमा बाँधेर अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार सोमबार राति करिब ८ बजे उर्लाबारी नगरपालिका–३ स्थित गुरु गोरक्षनाथ मन्दिरमा ७ वर्षीय रवि उराउ र ६ वर्षीया चाँदनी उराउलाई प्लास्टिकको डोरीले हातखुट्टा बाँधिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो। दुवै जना दाजुबहिनी रहेको प्रहरीले जनाएको छ।

डीएसपी श्रेष्ठले भने, “कसैमाथि चोरीको आशंका भए पनि कानुन आफ्नै हातमा लिएर बालबालिकालाई बाँधेर यातना दिन पाइँदैन। यस्तो कार्य गम्भीर अपराध हो। आरोपितलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु गरिएको छ।”

प्रहरीका अनुसार झापाको शिवसताक्षी नगरपालिका–३ का २० वर्षीय निशान कार्की र १८ वर्षीय सुमन बुढाथोकीलाई घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो। उनीहरूले मोबाइल चोरी गरेको आरोप लगाउँदै बालबालिकालाई मन्दिरको फलामे पिलरमा बाँधेर शारीरिक यातना दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर बालबालिकाको डोरी खोली उद्धार गरेको थियो। त्यसपछि उनीहरूलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

चिकित्सकको प्रारम्भिक परीक्षणमा दुवै बालबालिकाको खुट्टामा निलडाम देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका कार्की र बुढाथोकीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ असार २०८३ १६:२३ मंगलबार