अपराध

सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गरेको आरोपमा दुई पक्राउ

सार्वजनिक यातायातमा यात्रु बनेर सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौंको पुरानो बसपार्कदेखि बिजुली बजारसम्म चल्ने सार्वजनिक यातायातमा एक यात्रुको घाँटीमा लगाएको सुनको सिक्री चोरी गरी फरार भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोलुखुम्बुको काङ्गेल गाउँपालिका-४ का ३२ वर्षीय अजय बस्नेत र झापाको दमक नगरपालिका-६ का ४३ वर्षीय भविन्द्र विक रहेका छन्। दुवै जना हाल भक्तपुरको सूर्यविनायक क्षेत्रमा बस्दै आएका थिए।

पक्राउ परेकामाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित: २ भाद्र २०८३ ०६:३९ मंगलबार