स्वास्थ्य क्लिनिक अनुगमन गर्न हिँडेको सादा पोसाकको प्रहरी भन्दै धाकधम्की दिएर काउन्टरबाट नगद लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित एक क्लिनिकमा लुटपाट मच्चाएर फरार भएका उनीहरूलाई प्रहरी वृत्त थानकोटको टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-२, बसुन्डोल बस्ने ३१ वर्षीय रोशन सुखेती र २६ वर्षीय संजय बिसुंखे रहेका छन्।
उनीहरूलाई असोज ५ गते बसुन्डोल क्षेत्रबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिए।
प्रहरीका अनुसार गत असोज १ गते साँझ करिब ६:४० बजे थानकोटको एक स्वास्थ्य क्लिनिकमा प्रवेश गरेका उनीहरूले आफूहरू सादा पोसाकका प्रहरी भएको दाबी गरेका थिए।
मेडिकल अनुगमनमा आएको भन्दै क्लिनिक सञ्चालकलाई डर-त्रास र धाकधम्की देखाई उनीहरूले औषधि बिक्री गरी काउन्टरमा राखिएको नगद रकम लुटेर भागेका थिए।
घटनालगत्तै खोजीमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनाविरुद्ध आपराधिक लाभ एक्सटर्सन (ठगी) सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको परिसरले जनाएको छ।
अनुसन्धानका क्रममा पक्राउ परेका दुवै जना नागढुङ्गास्थित सुरुङमार्ग आयोजनामा कार्यरत रहेको र त्यहाँ आफ्नो जिम्मामा रहेको सञ्चार उपकरणलाई प्रहरीको भन्दै दुरुपयोग गरी लुटपाटमा प्रयोग गरेको समेत खुल्न आएको छ।
प्रकाशित: ६ आश्विन २०८३ १९:५५ मंगलबार