वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम असुली ठगी गरेको आरोपमा दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बर्दियाको बासगढी नगरपालिका-५ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-४ बस्ने २३ वर्षीया रेश्मा क्षेत्री र काठमाडौंको शंकरापुर नगरपालिका-८ का ५० वर्षीय रञ्जित केसी रहेका छन्।
क्षेत्रीले आकर्षक तलबको प्रलोभन देखाउँदै पीडितलाई रोजगारीका लागि ग्रिस पठाइदिने भन्दै १२ लाख रुपैयाँ लिएको प्रहरीको भनाइ छ। लामो समयसम्म रकम बुझाए पनि विदेश नपठाएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए।
त्यस्तै, केसीले अस्ट्रेलियामा रोजगारी लगाइदिने भन्दै एक जना पीडितबाट १ लाख ६८ हजार रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
दुवै जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ परेकामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रहरीले वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित व्यक्ति वा संस्थाको आधिकारिकता जाँच गर्न तथा रकम बुझाउँदा आवश्यक प्रमाण सुरक्षित राख्न आग्रह गरेको छ।
प्रकाशित: २ भाद्र २०८३ ०७:०५ मंगलबार