अपराध

बेलायत र अष्ट्रेलिया पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका लागि बेलायत र अष्ट्रेलिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बस्ने बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ का ३१ वर्षीय मनोहर चौधरी र काठमाडौं महानगरपालिका–१३ बस्ने प्युठानको गौमुखी गाउँपालिका–४ का २२ वर्षीय मेघराज सुनार रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

पक्राउ परेकामध्ये चौधरीले बेलायत पठाइदिने भन्दै रु आठ लाख ५० हजार र सुनारले अष्ट्रेलिया पठाइदिने भन्दै रु २८ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको हो। दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए।

प्रकाशित: ३० कार्तिक २०८२ ०७:०८ आइतबार